नेपाल–चीन सीमामा मित्रतापूर्ण छलफल: संयुक्त गस्ती र सहकार्यको सहमति

सिन्धुपाल्चोक — जिल्लाको प्रमुख प्रशासनिक तथा प्रहरी पदाधिकारी परिवर्तनसँगै नेपाल–चीन सीमा समन्वय बैठक सम्पन्न भएको छ। नवनियुक्त प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी र जिल्ला प्रहरी प्रमुख काजी कुमार आचार्यको नेतृत्वमा भएको यस बैठकमा दुवै देशबीच सीमा प्रबन्धन, सुरक्षा र सहकार्यलाई प्रगाढ बनाउने विषयमा छलफल भएको थियो।
बैठकमा चीनको सिजाङ स्वशासित क्षेत्र अन्तर्गत जाङमु प्रतिनिधिमण्डलले सहभागिता जनाएको थियो। प्रमुख जिल्ला अधिकारीका अनुसार बैठकमा आगामी निर्वाचन, सीमा सुरक्षा, व्यापार–पर्यटन प्रवर्द्धन तथा विपद व्यवस्थापनजस्ता विषयहरूमा गहिरो छलफल भएको थियो।
जिल्ला प्रहरी प्रमुख आचार्यले बताए अनुसार सीमा क्षेत्रमा संयुक्त गस्ती चलाउने, सूचना आदान–प्रदान गर्ने, सीमास्तम्भ संरक्षण, तस्करी तथा गैरकानुनी आवागमन नियन्त्रण गर्ने क्षेत्रमा दुवै पक्षबीच सहकार्य गर्ने सहमति बनेको छ।
बैठकमा नेपाली पक्षतर्फबाट सिडिओ, एसपी, अनुसन्धान, सशस्त्र र अध्यागमन अधिकारीहरू र चीनकाेतर्फबाट जाङ्मु प्रहरीका एसएसपी, एसपी, डिएसपी र अध्यागमन अधिकारीहरूले सहभागिता जनाएका थिए।
यसबाट दुई मित्र राष्ट्रबीचको सीमा प्रबन्धन र सुरक्षा सहकार्य अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।





