विश्व व्यापारको चुनौतीबीच चीनको कूटनीतिक रणनीति

२०२६ मा वैदेशिक व्यापार स्थिरताका लागि प्रवर्द्धन प्रणाली थप सशक्त

बेइजिङ । विश्व व्यापार परिवेश झन जटिल र चुनौतीपूर्ण बन्दै गएको सन्दर्भमा चीनले सन २०२६ मा पनि आफ्नो वैदेशिक व्यापारलाई स्थिर राख्न व्यापार प्रवर्द्धन प्रणालीलाई थप तीव्र बनाउने स्पष्ट संकेत दिएको छ। चीन अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद (सीसीपीआईटी) का अध्यक्ष रेन होङबिनले मंगलबार आयोजित राष्ट्रिय व्यापार प्रवर्द्धन कार्य सम्मेलनलाई सम्बोधन गर्दै यो जानकारी दिएका हुन्।

अध्यक्ष रेनका अनुसार, व्यापार प्रवर्द्धन प्रणालीले क्रस–बोर्डर ई–कमर्स, विदेशी गोदाम (ओभरसिज वेयरहाउसिङ) र निर्यात ऋण बीमा जस्ता माध्यममार्फत चिनियाँ कम्पनीहरूलाई निर्यात विस्तार गर्न सहयोग गर्नेछ। साथै, सम्बन्धित देशहरूबाट गुणस्तरीय वस्तु र सेवाको आयात बढाउन पनि समर्थन गरिनेछ, जसले उद्योग रूपान्तरण, औद्योगिक उन्नयन र उपभोग स्तरवृद्धिका आवश्यकताहरू पूरा गर्न मद्दत पुर्‍याउने र आयात–निर्यातको सन्तुलित विकासलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

रेनले प्रमुख देशहरूबीचको प्रतिस्पर्धा अझ जटिल र तीव्र बन्दै गएको उल्लेख गर्दै, केही पश्चिमी मुलुकहरू अझै पनि शीतयुद्धकालीन सोच र शून्य–योग मानसिकताबाट मुक्त हुन नसकी चीनविरुद्ध व्यापक नियन्त्रण र दबाब बढाइरहेको आरोप लगाए। यसले चीनको वैदेशिक व्यापारमा बाह्य दबाब थपिएको उनको भनाइ थियो।

उनका अनुसार, २०२६ का व्यापार प्रवर्द्धन प्रयासहरूले सहकार्य र कार्यक्षमतामा केन्द्रित भएर नीति कार्यान्वयन गर्नुपर्नेछ। परिवर्तनलाई समयमै पहिचान गर्ने, त्यसअनुसार प्रतिक्रिया जनाउने र आवश्यक दिशानिर्देश दिने क्षमतामा जोड दिनुपर्ने उनले बताए। साथै, उद्यमहरूकालागि सेवा सुदृढ गर्ने, अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्ने र तीव्र विश्व प्रतिस्पर्धाबीच चिनियाँ व्यापारिक समुदायलाई अग्रसरता लिन सहयोग पुर्‍याउने लक्ष्य राखिएको छ।

चिनियाँ कम्पनीहरूलाई नयाँ बजार अन्वेषण, विकासको गति बढाउने र व्यापार वातावरण सुधार गर्न सहयोग गर्ने उद्देश्यले सीसीपीआईटी ले गत वर्ष ९२ देश तथा क्षेत्र मा २,१४४ वटा प्रतिनिधिमण्डल पठाई व्यापार मिलान तथा व्यावसायिक भेटघाट कार्यक्रम सञ्चालन गरेको थियो। यसले चिनियाँ कम्पनीहरूलाई विदेशी बजार विस्तार र विश्वव्यापी औद्योगिक संरचना सुदृढ गर्न महत्वपूर्ण भूमिका खेलेको बताइएको छ।

चीनले बदलिँदो विश्व व्यापार संरचनामा चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै, बहुपक्षीय सहकार्य र व्यावहारिक रणनीति मार्फत आफ्नो वैदेशिक व्यापारलाई स्थिर र दिगो दिशामा अघि बढाउने सन्देश यस सम्मेलनले स्पष्ट पारेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button