१६ चैत्र २०८२, सोमबार

‘सरकार प्रतिशोधपूर्ण गतिविधि नगरोस्’ : पत्रकार महासंघकी अध्यक्ष शर्माको चेतावनी, अभिव्यक्ति स्वतन्त्रता रक्षाका लागि लड्ने प्रतिबद्धता

काठमाडौँ — नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सरकारलाई प्रतिशोधपूर्ण तरिकाले कुनै पनि गतिविधि नगर्न चेतावनी दिएकी छन्। सोमबार महासंघको स्थापना दिवसको अवसरमा आयोजित प्रभातफेरी कार्यक्रमपछि बोल्दै उनले पत्रकारहरू जहिले पनि ‘वाचडग’ (सतर्क प्रहरी) को रूपमा रहने उल्लेख गर्दै सरकारका क्रियाकलापहरूमाथि महासंघले निगरानी गरिरहेको स्पष्ट पारिन्।

अध्यक्ष शर्माले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने काम कतैबाट भएमा पत्रकार महासंघ नागरिक अगुवा संस्थाको रूपमा सशक्त रूपमा उभिने बताइन्। उनले नागरिक अगुवा संस्थाहरूको एलायन्स ‘पाफर्ड’ र नेपाल बार एशोसिएशनसँगको सहकार्यमा महासंघ अगाडि बढ्ने जानकारी समेत दिइन्।

कतिपय कानुनहरू बन्ने क्रममा रहेको र कतिपय अवस्थामा संविधानले दिएको अधिकार प्रयोग गर्न नपाउने गरी कानुनहरू आउन लागेकोमा उनले चिन्ता व्यक्त गरिन्। सरकारलाई सरोकारवालासँग छलफल गरेर मात्र कानुन ल्याउन आग्रह गर्दै उनले भनिन्, “अहिले निर्वाचित सरकारले संविधान र कानुनसम्मत भन्दा पनि प्रतिशोधपूर्ण तरिकाले कुनै पनि गतिविधि नगरोस् भनेर हामी उहाँहरूलाई भन्न चाहन्छौँ। किनभने पत्रकार भनेको जहिले पनि वाचडगको रूपमा रहेको हुन्छ।”

उनले थपिन्, “अहिले कतिपय कानुनहरू बन्ने क्रममा छन्। कानुन बन्न नसकेका कारणले कतिपय अवस्थामा अभिव्यक्ति स्वतन्त्रता, संविधानले दिएको अधिकार पनि कहिलेकाहीँ प्रयोग गर्न नपाउने अवस्था केही कानुनहरूमा छ।”

पत्रकारको श्रम अधिकारको विषयमा महासंघले कुनै पनि हालतमा ‘कम्प्रोमाइज’ (सम्झौता) नगर्ने उनले स्पष्ट पारिन्। हाल धेरै मिडिया हाउसहरू आर्थिक रूपमा धराशायी भएको उल्लेख गर्दै उनले राज्यले मिडिया क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिइन्। सामाजिक सञ्जालको प्रयोगले मिडियाप्रतिको विश्वसनीयता गुम्दै गएको अवस्थामा जिम्मेवार पत्रकारिताका लागि लामो संघर्ष गर्नुपर्ने उनको भनाइ छ।

“अहिले सामाजिक सञ्जालको प्रयोगले गर्दा मिडिया माथिको विश्वसनीयता गुम्दैछ। जिम्मेवार पत्रकारिताका लागि हामीले लामो लडाइँ लड्नुपर्नेछ,” शर्माले भनिन्।

महासंघले देशभरका पत्रकारहरूलाई एकतावद्ध भएर अगाडि बढ्न आह्वान गर्दै श्रम अधिकारको संरक्षण र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि आफ्नो अभियान जारी राख्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ। पत्रकार महासंघले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षाका विषयलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने उल्लेख गरेको छ।

प्रभातफेरी कार्यक्रममा पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो। महासंघले आगामी दिनमा सरकार र अन्य निकायहरूसँगको समन्वयमा पत्रकारिता क्षेत्रको समग्र विकास र पत्रकारहरूको हकहितका लागि विभिन्न कार्यक्रमहरू अघि बढाउने जनाएको छ।

यसैबीच, महासंघको स्थापना दिवसका अवसरमा विभिन्न जिल्लाहरूमा पनि कार्यक्रमहरू आयोजना गरिएको थियो। पत्रकारहरूले आ–आफ्नो क्षेत्रमा प्रेस स्वतन्त्रता, पत्रकारको सुरक्षा र श्रम अधिकारका विषयमा ध्यानाकर्षण गराउँदै महासंघको नेतृत्वप्रति विश्वास व्यक्त गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button