सांसदसँग प्रधानमन्त्री बालेन : क्षेत्रगत समस्या सुन्नेदेखि बजेट प्राथमिकताको समीकरणसम्म

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सांसदहरूसँग आ–आफ्ना निर्वाचन क्षेत्र तथा जिल्लाका तत्कालीन समस्या र तिनको समाधानका उपायबारे व्यापक छलफल गरेका छन्। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रदेशगत रूपमा सांसदहरूलाई बोलाएर प्रधानमन्त्री शाहले उनीहरूको क्षेत्रमा रहेका जटिलता र सम्भावित समाधानका बाटाबारे प्रत्यक्ष जानकारी लिएका हुन्।
छलफलमा सहभागी कोशी प्रदेशका सांसद यज्ञमणि न्यौपानेले प्रदेशगत सामूहिक समस्या र आ–आफ्नो निर्वाचन क्षेत्रका विशिष्ट समस्याहरू प्रधानमन्त्रीसमक्ष राखिएको जानकारी दिए। उनले भने, “हामीले आ–आफ्ना निर्वाचन क्षेत्रमा भएका समस्या र एक जिल्ला वा एक क्षेत्रभन्दा माथिका साझा समस्याहरू राख्यौं।” छलफलका क्रममा प्रधानमन्त्री शाहले समस्या मात्र नभई समाधानको बाटो के हुन सक्छ भन्नेमा विशेष जोड दिएको न्यौपानेले बताए।
प्रधानमन्त्री शाहले आगामी बजेट र प्राथमिकता निर्धारण गर्दा सांसदहरूले उठाएका समस्यालाई सम्बोधन गर्न सकिने विचार राखेको न्यौपानेले उद्धृत गरे। उनले भने, “उहाँले बजेट र प्राथमिकता निर्धारण गरेर समस्या समाधान गर्न सकिने विचार राख्नुभयो।” केही समस्याहरू बजेट अभावका कारण समाधान हुन केही समय लाग्न सक्ने भए पनि तत्कालै समाधान गर्न सकिने विषयहरूमा भने सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले व्यक्त गरेको न्यौपानेको भनाइ छ।
प्रदेशगत रूपमा आयोजित यस शृंखलाबद्ध छलफलले संघीय सरकार र जनप्रतिनिधिहरूबीच समन्वयलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। सिंहदरबारमा जारी यस प्रक्रियाले सांसदहरूले आफ्नो क्षेत्रमा देखेका समस्यालाई प्रधानमन्त्रीले प्राथमिकताका साथ सुन्ने र समाधानका लागि ठोस पहल गर्ने विश्वास पैदा गरेको छ। छलफलपछि प्रधानमन्त्री शाहले तत्काल सम्बोधन गर्न सकिने विषय र दीर्घकालीन योजना आवश्यक पर्ने विषयलाई अलग–अलग रूपमा अघि बढाउने संकेत दिएको सहभागी सांसदहरूले जनाएका छन्।





