१६ चैत्र २०८२, सोमबार

हिमाली बस्ती सेताम्मे, दुई यात्रीको ज्यान : ताप्लेजुङमा बेमौसमी हिमपातले त्रसित जनजीवन

ताप्लेजुङ — चैत पहिलो सातापछि नेपालमा सुरु भएको बेमौसमी वर्षाले ताप्लेजुङको हिमाली भेगमा बाक्लो हिमपात गराएको छ। पछिल्लो एक सातादेखि दिनहुँ भइरहेको वर्षा र त्यससँगै परेको हिमपातले हिमाली बस्तीका जनजीवन त्रसित बनाएको छ। पर्यटकीय मौसम सुरु भइसकेको यो समयमा हिमपातले पर्यटन क्षेत्रमा समेत गम्भीर असर पारेको छ। सबैभन्दा दुःखद, हिमपातकै कारण कञ्चनजङ्घा क्षेत्र र पाथीभरा दर्शनस्थलमा दुई जनाको ज्यान गएको छ।

उच्च भेगसँगै हिमाली बस्तीसम्म नै हिमपात भएको हो। जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा बस्ती, वडा ७ ओलाङ्चुङगोलाको याङ्मा र मौवाटार बस्तीमा बाक्लो हिमपात भएको छ। करिब ४ हजार २०० मिटर उचाइ रहेको जिल्लाकै उच्च हिमाली बस्ती याङ्मा र मौवाटार क्षेत्रमा करिब आधा फिटसम्म हिउँ जमेको स्थानीयले बताएका छन्। ओलाङ्चुङगोलाका स्थानीय तेन्जिङ शेर्पाका अनुसार गोला बस्तीसम्मै सामान्य हिमपात भएको छ। हिमपातले पशुपालन पेसासहित हिमाली भेगका बासिन्दाको दैनिकी नै प्रभावित बनेको छ।

लेलेपको घुन्सा बस्तीमा शुक्रबार गाउँ नै ढाक्नेगरी सेताम्मे हिउँ परेको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल ताप्लेजुङका अध्यक्ष सुरज ओझाले जानकारी दिए। कञ्चनजङ्घा आधार शिविर जाने पदमार्गमा पर्ने पर्यटकीय वस्ती घुन्सामा यति बाक्लो हिउँ परेपछि यहाँको जनजीवन प्रभावित बनेको छ।

पर्यटकीय मौसम सुरु भइसकेको समयमा वर्षा र हिमपात भएपछि पर्यटन क्षेत्र पनि मारमा परेको छ। कञ्चनजङ्घा आधार शिविर क्षेत्र, सिँजेमा ताल, तिम्बुङ पोखरी र प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा बाक्लो हिमपात भएका कारण बाह्य तथा आन्तरिक पर्यटक प्रभावित भएका छन्। कञ्चनजङ्घा आधार शिविर क्षेत्र लोनाकमा होटल व्यवसाय गर्दै आएका व्यवसायी तेन्जिङ सेराप शेर्पाले पछिल्लो साता निरन्तर वर्षा र हिमपात भएपछि आधार शिविर क्षेत्रमा बाक्लो हिउँ जमेको जानकारी दिए। यसले गर्दा कञ्चनजङ्घा भ्रमणमा आएका केही विदेशी तथा स्वदेशी पर्यटक लोनाक र पाङ्पेमा रोकिन बाध्य भएका छन्।

तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरा दर्शनमा आउने धार्मिक पर्यटक तथा तीर्थयात्री पनि हिमपातका कारण निकै असहज अवस्थामा छन्। हिउँ परेको क्षेत्रमा पदयात्रा गर्दा चिप्लिएर लड्ने र लेक लाग्ने सम्भावना उच्च हुने भएकाले यात्रा जोखिमपूर्ण बनेको छ। विशेषगरी दीर्घरोगी र कमजोर स्वास्थ्य अवस्था भएकालाई हिमपातको बेला हिमाली भेगमा लेक लाग्ने लगायतका समस्या बढी हुने गर्दछ।

यही हिमपातकै कारण कञ्चनजङ्घा र पाथीभरा क्षेत्रमा गरी दुई जनाको मृत्यु भएको छ। आइतबार बिहान करिब २ः३० बजेको समयमा कञ्चनजङ्घा क्षेत्र लोनाक आधार शिविर पुगेका एक व्यक्तिको लेक लागेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार समृद्ध पहाड नामक संस्थाका योजना अधिकृतको रूपमा कार्यरत कनकासुन्दरी गाउँपालिका–५ का ३३ वर्षीय चन्द्रजङ्ग हमालको मृत्यु भएको हो। लोनाकमा पुगेका बेला शनिबार अचानक बिरामी भएका हमाललाई हेलिकोप्टरमार्फत उद्धार गर्ने प्रयास गरिए पनि प्रतिकूल मौसमले सम्भव भएन। बाक्लो हिउँका कारण बोकेर तल्लो क्षेत्रसम्म झार्न पनि नसकिएको पर्यटन व्यवसायी शेर्पाले बताए। आइतबार एभरेष्ट एयरको हेलिकोप्टरमार्फत हमालको शव काठमाडौं लगिएको छ।

यसअघि नै पाथीभरा दर्शनमा आएका पाँचथर, हिलिहाङ गाउँपालिका–२ का हरि श्रेष्ठका तीन वर्षीय छोरा सोहनको गएको सोमबार मृत्यु भएको थियो। पाथीभरा दर्शन गरेर फर्कने क्रममा अचानक बिरामी भएका बालकलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको केही समयमै मृत्यु भएको थियो। त्यतिबेला पाथीभरा क्षेत्रमा परेको हिउँकै कारण लेक लागेर बालकको मृत्यु भएको अनुमान गरिएको थियो।

ताप्लेजुङमा अझै वर्षा र हिमपातको क्रम रोकिएको छैन। पछिल्लो एक सातादेखि प्रत्येक दिन साँझ र राति वर्षा हुँदै आएको छ। कुनै दिन बिहानै र दिउँसोसमेत वर्षा हुने गरेको छ। घाम नलागेर दिनहुँ मौसम बदली र धुम्मिने गरेको छ। हिमाली भेगमा हिमपात पनि निरन्तर जारी छ। यसरी बेमौसमी वर्षा र हिमपातले जनजीवन, पशुपालन, कृषि र पर्यटन क्षेत्रमा परेको असर दीर्घकालीन बन्न सक्ने आशंका गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button