रूसले अमेरिकाको नयाँ क्युबा विरोधी प्रशासकीय आदेशको निन्दा गर्यो

मस्काे / रूसी विदेश मन्त्रालयका आधिकारिक प्रवक्ता मारिया जाखारोवाले अमेरिकी प्रशासनले क्युबा विरुद्ध जारी गरेको नयाँ कार्यकारी आदेशलाई “अर्थतन्त्रलाई दमन गर्ने उद्देश्यपूर्ण रणनीति” भनेर निन्दा गरिन्।
जनवरी २९ मा जारी भएको उक्त आदेशमा अमेरिकाले क्युबाका नीति र कार्यहरूले अमेरिकी राष्ट्रिय सुरक्षा र विदेश नीतिलाई “विशेष सङ्कट” सिर्जना गरेको भन्दै “आपतकालीन अवस्था” घोषणा गरेको थियो।
जाखारोवाले भनिन्, “यसरी एकतर्फी प्रतिबन्ध लगाउने र अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्रसंघलाई बेवास्ता गर्ने अमेरिकाको यो नीति अस्वीकार्य छ। क्युबा विरुद्धको यो नयाँ दस्तावेजमा रूसलाई ‘विरोधी’ र ‘दुर्भावनापूर्ण’ राज्यको रूपमा वर्गीकृत गरिएको छ।”
उनले अमेरिकी व्यापारिक तथा आर्थिक प्रतिबन्धले नै क्युबाको कठिन सामाजिक-आर्थिक परिस्थिति सिर्जना भएको बताउँदै भनिन्, “रूसले क्युबासँगको ऐतिहासिक सहयोगलाई अगाडि बढाउँदै आएको छ र यो सहकार्य कसैप्रति विरोधको रूपमा हेर्नु ठीक हुँदैन।”
रूसी विदेश मन्त्रालयले क्युबा विरुद्धको प्रतिबन्ध हटाउन र अन्तर्राष्ट्रिय सहयोगमा बाधा नबनाउन पनि अमेरिकालाई आग्रह गरेको छ।





