‘जेनजी दमनदेखि भ्रष्टाचारसम्म’ : पूर्वसीडीओ छवि रिजाल पक्राउ

काठमाडौं — जेनजी आन्दोलनका क्रममा काठमाडौंको प्रमुख जिल्ला अधिकारी रहेका छवि रिजाललाई अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ। उनीमाथि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोप छ।
रिजाल तत्कालीन गृहमन्त्री रमेश लेखकका निकट मानिन्थे। जेनजी आन्दोलनमा दमनपछि उनी काठमाडौंको प्रमुख जिल्ला अधिकारीबाट एक महिना नपुग्दै बहिर्गमन भएका थिए। पछि गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजाललाई समेत कारबाही सिफारिस गरेको थियो। आयोगकै सिफारिसका आधारमा यसअघि नै तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखक गत शनिबार पक्राउ परिसकेका छन्। अब रिजाल पनि त्यही शृंखलामा थपिएका हुन्।
तर रिजालको पक्राउ केवल जेनजी आन्दोलनको दमनमा मात्र सीमित छैन। उनी काठमाडौंको प्रमुख जिल्ला अधिकारी हुनुभन्दा अघि गृह मन्त्रालयको प्रशासन महाशाखाको प्रमुख थिए। तत्कालीन गृहमन्त्री रमेश लेखकको पालामा उक्त जिम्मेवारी सम्हालेका रिजालमाथि कर्मचारीहरूलाई अध्यागमन र आकर्षक कार्यालयहरूमा पठाउँदा ‘पेशागत आचरण विपरीत काम गरेको’ आरोप समेत छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पठाएको विवरणमा रिजालमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान भइरहेको उल्लेख छ। सो विवरणअनुसार तत्कालीन गृहमन्त्री रमेश लेखकका निजी सचिव बद्री तिवारी, स्वकीय सचिव जनक भट्ट, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी र अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईसँगको अस्वभाविक गतिविधि र डायरी लगायतका विवरणमा नाम उल्लेख भएकाहरूमाथि समेत अनुसन्धान भइरहेको जनाइएको छ।
रिजाल एकैसाथ दुई ठूला मुद्दाका घेरामा परेका छन्। एकातिर जेनजी आन्दोलनमा भएको दमनको राजनीतिक जवाफदेहिता, अर्कोतिर प्रशासनिक नियुक्तिमा अनियमितताको भ्रष्टाचारको आरोप। उनी पक्राउ परेपछि जेनजी आन्दोलनका पीडित, मानवअधिकारकर्मी र प्रशासनिक सुशासनको पक्षधरहरूले न्यायिक प्रक्रियाबाट सत्यको पहिचान हुने विश्वास व्यक्त गरेका छन्।
यसअघि ओली र लेखक पक्राउ परेपछि पनि रिजालको पालो कहिले आउने भन्ने चर्चा राजनीतिक र प्रशासनिक वृत्तमा व्याप्त थियो। अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार उनलाई नियन्त्रणमा लिएपछि यो शृंखलाको अर्को महत्वपूर्ण कडी जोडिएको छ। अब अनुसन्धानले कुन दिशामा लान्छ भन्ने विषयमा सबैको ध्यान केन्द्रित भइरहेको छ।





