१९ चैत्र २०८२, बिहीबार

नयाँ सरकारप्रति चीनको सकारात्मक सन्देश: सहकार्य, स्थिरता र समृद्धितर्फ जोड

काठमाडौं — नेपालकालागि चिनियाँ राजदूत चाङ माओमिङले नेपालको समसामयिक राजनीतिक अवस्थादेखि द्विपक्षीय सम्बन्धसम्मका विविध विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै चीनको स्पष्ट र सकारात्मक दृष्टिकोण प्रस्तुत गर्नुभएको छ। नेपालका एक टेलिभिजनसँगको विशेष अन्तर्वार्तामा उहाँले नयाँ सरकारप्रति विश्वास व्यक्त गर्नुका साथै नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता दोहोर्‍याउनुभएको हो।

राजदूत माओमिङले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल र व्यवस्थित रूपमा सम्पन्न गरेकोमा नेपाललाई बधाई दिँदै चीनले नेपालको स्वतन्त्र निर्णय क्षमताप्रति सधैँ सम्मान र समर्थन गर्दै आएको स्पष्ट पार्नुभयो। उहाँका अनुसार चीनले नेपाललाई आफ्नै राष्ट्रिय परिस्थितिअनुसार विकासको मार्ग रोज्न पूर्ण स्वतन्त्रता दिएको छ।

नयाँ सरकार गठनसँगै देखिएको राजनीतिक परिवर्तनप्रति संकेत गर्दै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीको उदयलाई नेपाली जनताको, विशेषगरी युवापुस्ताको सुधार, सुशासन र विकासप्रतिको आकांक्षाको प्रतिबिम्बका रूपमा व्याख्या गर्नुभयो। साथै, सबै राजनीतिक शक्तिहरूले राष्ट्रिय हितलाई प्राथमिकतामा राख्दै राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि संयुक्त रूपमा काम गर्ने अपेक्षा पनि व्यक्त गर्नुभयो।

राजदूत माओमिङले सन् १९५५ मा स्थापित नेपाल–चीन कूटनीतिक सम्बन्धको स्मरण गर्दै दुई देशबीचको सम्बन्ध सधैँ आपसी विश्वास, सहयोग र साझेदारीमा आधारित रहेको उल्लेख गर्नुभयो। उहाँले कठिन समयमा समेत दुई देशले एकअर्कालाई साथ दिएको इतिहास रहेको बताउँदै आगामी दिनमा पनि सहकार्य अझ गहिरो हुने विश्वास व्यक्त गर्नुभयो।

द्विपक्षीय सहकार्यको भविष्यबारे बोल्दै उहाँले बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्गतका परियोजनाहरूलाई गुणस्तरीय रूपमा अगाडि बढाउने र “सानो तर प्रभावकारी” जीविकोपार्जन कार्यक्रमहरूलाई प्राथमिकता दिने योजना रहेको जानकारी दिनुभयो। उहाँका अनुसार, यस क्रममा देखिएका चुनौतीहरूलाई सहकार्यकै माध्यमबाट समाधान गरिनेछ।

अन्त्यमा, उहाँले सी चिनफिङ र नेपाली नेतृत्वबीच भएका समझदारीलाई कार्यान्वयन गर्दै मित्रता, पारस्परिक लाभ र समावेशीतामा आधारित सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यस अन्तर्वार्ताले नेपाल–चीन सम्बन्धलाई केवल कूटनीतिक दायरामा सीमित नराखी विकास, सहकार्य र साझा समृद्धिको दिशामा अघि बढाउने संकेत स्पष्ट रूपमा दिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button