आलोचनामाथि नियन्त्रणको संकेत? स्मृति तिमिल्सिनामाथि प्रहरी सोधपुछले उठायो अभिव्यक्ति स्वतन्त्रताको प्रश्न

काठमाडौं — नेपाली कम्युनिष्ट पार्टी निकट जेनजी रेड फोर्सकी संयोजक स्मृति तिमिल्सिना लाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको घटनाले अभिव्यक्ति स्वतन्त्रताबारे नयाँ बहस सुरु भएको छ। गृहमन्त्री सुधन गुरुङ प्रति निरन्तर आलोचनात्मक अभिव्यक्ति दिँदै आएकी तिमिल्सिनालाई बुधबार बिहान प्रहरीले सोधपुछ गरेको जानकारी प्राप्त भएको छ।
उपलब्ध विवरणअनुसार, तिमिल्सिनालाई बिहान अपरिचित नम्बरबाट अन्तर्वार्ताका लागि भन्दै अनामनगर बोलाइएको थियो। तर, त्यहाँ पुगेपछि सादा पोशाकमा रहेका करिब ६ जना प्रहरीले ‘माथिको आदेश’ भन्दै उनलाई नियन्त्रणमा लिएर भद्रकालीस्थित काठमाडौं प्रहरी परिसर पुर्याएका थिए।
प्रहरीले करिब एक घण्टासम्म सोधपुछ गर्दै ‘गृहमन्त्रीको आलोचना नगर्न’ सुझावसहित उनलाई छोडिएको बताइएको छ। यस घटनापछि सम्बन्धित समूहले वर्तमान सरकारको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेको छ।
संगठनका अनुसार, विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारको आलोचना गर्दा कुनै अवरोध नभए पनि अहिले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार बनेसँगै अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रयास भइरहेको आरोप लगाइएको छ।
यो घटनाले राजनीतिक आलोचना, राज्यको प्रतिक्रिया र नागरिक स्वतन्त्रताबीचको सन्तुलनबारे गम्भीर प्रश्न उठाएको छ। लोकतान्त्रिक व्यवस्थामा असहमति र आलोचनालाई कसरी सम्बोधन गरिन्छ भन्ने विषय पुनः केन्द्रमा आएको छ।





