बदलाको बाटोमा एमाले : ओली–लेखकको पक्षमा आन्दोलनको घोषणा, कार्यक्रम सार्वजनिक

काठमाडौं / नेकपा (एमाले) ले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीलाई ‘प्रतिशोधपूर्ण’ भन्दै सरकारविरुद्ध व्यापक आन्दोलनको घोषणा गरेको छ। पार्टी सचिवालय बैठकले प्रहरीले गरेको दमनको भर्त्सना गर्दै चरणबद्ध कार्यक्रम तय गरेको हो।
एमालेले सरकारको कार्यशैलीलाई बदला–प्रेरित भन्दै आन्दोलनको औपचारिक घोषणा गरेको छ। बैठकले तत्कालै लागू हुने गरी निम्न कार्यक्रम तय गरेको छ:
· चैत २५: जिल्ला तहमा आन्दोलनकेन्द्रित बृहत् भेला
· चैत २८: सबै पालिकामा विरोध प्रदर्शन
· वैशाख ३: वडा तहमा भेला
· वैशाख ७: प्रदेश राजधानीहरूमा प्रदर्शन
· वैशाख १२: राजधानीमा विशाल विरोध प्रदर्शन
पार्टीले जनसंगठनहरूलाई पनि परिचालन गर्ने निर्णय गरेको छ। विद्यार्थी तथा पेशागत संगठनहरूले आ–आफ्नो ढंगले आन्दोलन सञ्चालन गर्नेछन्। सोमबार (भोलि) बिहान ११ बजे पार्टी कार्यालयमा जनसंगठन संयन्त्रको बैठक बोलाइएको छ।

सर्वपक्षीय नागरिक संवादको जिम्मा उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीन बहादुर शाहीलाई दिइएको छ। संसद्भित्र अन्य दलहरूसँग सहकार्य गर्ने र प्रभावकारी प्रस्तुति दिने जिम्मा उपाध्यक्ष राम बहादुर थापा ‘बादल’ र सचिव पद्मा अर्यालले पाएका छन्। सोमबार (भोलि) अपराह्न ३ बजे पार्टी कार्यालयमै संसदीय दलको बैठक बस्नेछ।
पार्टीले आन्दोलनका थप कार्यक्रम तय गर्न तत्काल केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय पनि गरेको छ।
एमालेको यो निर्णयपछि राजनीतिक तापक्रम बढेको छ। पार्टीले ओली र लेखकको गिरफ्तारीलाई ‘प्रतिशोध’ भन्दै आन्दोलनलाई जनस्तरसम्म लैजाने रणनीति बनाएको हो। अब आगामी दिनहरूमा सरकार र एमालेबीचको टकरावले नयाँ राजनीतिक समीकरण कोर्ने संकेत देखिएको छ।





