कांग्रेसमा भित्री घम्साघम्सी : पिछडिएकोलाई पन्छाएर कसलाई सांसद बनाइयो ? खड्काको खुलासा

काठमाडौं / नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको विशेष महाधिवेशनबाट आएको नेतृत्वले प्रतिनिधि सभाको समानुपातिक सांसद सिफारिसमा अनियमितता गरेको आरोप लगाएका छन्।
शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहको काठमाडौंको महाराजगञ्जमा बसेको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठकमा खड्काले यस्तो ब्रिफिङ गरेका हुन्। बैठकका एक सहभागीका अनुसार खड्काले पिछडिएको क्षेत्रको कोटामा भएको हेरफेरबारे विस्तृत रूपमा प्रकाश पारे।
खड्काको भनाइ थियो– ‘विशेष महाधिवेशनको नेतृत्वले समानुपातिकमा पिछडिएको क्षेत्रमा एक नम्बरमा रहेकी विद्या तिमिल्सिनाको नाम हटाएर कलस्टरमै नाम नभएको पुरुष खस आर्य कोटाको ७ नम्बरमा रहेका कालीबहादुर सहकारीलाई सांसद बनाइएको छ।’
यसैगरी, दलित कोटाका मानबहादुर नेपालीले समेत आफूमाथि पक्षपात भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरिसकेको खड्काले बैठकमा जानकारी दिए।
विद्या तिमिल्सिना पनि आफ्नो नाम हटाइएको विषयमा सर्वोच्च अदालत पुगिसकेकी छन्। उनको रिट दर्ता भइसकेको छ। यसले कांग्रेसको समानुपातिक सांसद छनोट प्रक्रिया विवादको केन्द्र बनेको स्पष्ट संकेत गरेको छ।
नेपाली कांग्रेसभित्रको यो घटनाले पार्टीको आन्तरिक लोकतन्त्र र नेतृत्वको निर्णय प्रक्रियामाथि प्रश्न उठाएको छ। विशेष महाधिवेशनबाट आएको नेतृत्वले आफ्नो मातहतमा गरेको नियुक्ति र सिफारिसले अहिले पार्टीभित्रै असन्तुष्ति बढेको देखिन्छ। खड्काको यो ब्रिफिङले पार्टीमा भएको विवादलाई थप उजागर गरेको छ।
अब यी दुवै रिटमा सर्वोच्च अदालतले कस्तो फैसला गर्छ भन्ने विषयले कांग्रेसको समानुपातिक सांसदको अन्तिम टुंगो लगाउने देखिन्छ। यता पार्टीभित्रै नेतृत्वविरुद्ध खुलेर बोल्न थालिएपछि कांग्रेस आन्तरिक रूपमा थप चर्किने संकेत पनि देखिएको छ।





