लुगा फुकाल्ने पत्रकार : कालोसूचीमा अनलाइन, प्रेस पास नै रोक्न विभागमा पत्राचार

काठमाडौं / प्रेस काउन्सिल नेपालले पत्रकार सुरज खड्का सञ्चालक रहेको अनलाइन ‘एनपीएलप्रेस डटकम’ लाई सूचीकरणबाट हटाएको छ। काउन्सिलले उक्त अनलाइन मिडियालाई कालोसूचीमा राखेर प्रेस काउन्सिलको सूचीकरणबाट हटाएको हो। साथै, पत्रकार खड्काको प्रेस पास निलम्बनका लागि सूचना तथा प्रसारण विभागमा पत्राचार समेत गरिएको छ।
काउन्सिलका अनुगमन अधिकृत महेन्द्रराज सिंहका अनुसार गत फागुन ८ गतेको निर्णयअनुसार खड्कालाई ‘अवज्ञाकारी’ को सूचीमा राखी सूचीकरणबाट हटाइएको हो। उनले भने, ‘कालोसूचीमा राखी सूचीकरणबाट समेत हटाइएको छ। साथै सम्बद्ध सञ्चालक र पत्रकार सुरज खड्काको प्रेस पास निलम्बनका लागि सूचना तथा प्रसारण विभागमा पत्राचार गरिएको छ।’
खड्का विवादमा आउनुको कारण हो– गत आइतवार एमालेको एक कार्यक्रममा उनले लुगा नै फुकालेर ‘आओ आओ’ भन्दै एमाले कार्यकर्ताहरूसँग भिड्न तम्सिएको भिडिओ सार्वजनिक भएको थियो। उक्त भिडिओमा उनी एक–एक गर्दै भिड्ने भन्दै आफू ‘जिमर’ भएको समेत बताइरहेका थिए।
तर यो मात्र होइन। खड्काले नेपाल प्रेस नामको स्थापित सञ्चारमाध्यमसँग नाम जुध्ने गरी ‘एनपीएल प्रेस’ नामक अनलाइन दर्ता गराएर विभिन्न विद्यालय, वडा कार्यालय र निजी प्रतिष्ठानमा गएर धम्की दिने गरेको आरोप लागेको थियो। नेपाल प्रेसले यसबारे काउन्सिललाई केही महिनाअघि नै मौखिक जानकारी गराइसकेको थियो।
क्यामेरा बोकेर अनुमतिबिना नै निजी र सार्वजनिक कार्यालयमा पसी दुर्व्यवहार गर्ने गरेको उजुरी परेपछि काउन्सिलले कारबाही अघि बढाएको जनाएको छ।
प्रेस काउन्सिलको यो कदमले पत्रकार आचारसंहिता उल्लङ्घन गर्ने, नाम मिलाएर पाठक झुक्याउने र सार्वजनिक स्थानमा अशोभनीय व्यवहार गर्ने प्रवृत्तिमाथि नियामक निकाय नै कडा देखिएको संकेत गरेको छ। खड्काको प्रेस पास निलम्बन हुने हो भने उनी पत्रकारिता पेशाबाटै अलप हुन सक्ने देखिन्छ।





