पूर्वसीडीओ छवि रिजाल पक्राउको २४ घण्टाभित्रै जिम्मा जमानीमा रिहा

काठमाडौं – काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेको २४ घण्टा नबित्दै जिम्मा जमानीमा छुटेका छन्। उनलाई मंगलबार बिहान सुविधानगरस्थित घरबाट पक्राउ गरिएको थियो भने बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई छाडेको हो।
प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले रिजालसँग बुझ्नुपर्ने कागजातहरू बुझिसकेपछि खोजेका बखत उपस्थित हुने गरी जिम्मा जमानीमा छाडिएको जानकारी दिए। उनलाई आफ्नै भतिजको जिम्मामा छाडिएको छ।
रिजालविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा १८१ अन्तर्गत ‘हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने’ कसुरमा अनुसन्धान अघि बढाइएको थियो। यो कसुरमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धित छानबिन गर्न गठित जाँचबुझ आयोगले रिजालमाथि कारबाहीको सिफारिस गरेको थियो। सीडीओ जिल्ला सुरक्षा समितिको अध्यक्षसमेत हुने भएकाले पहिले उनलाई पक्राउ नगरिने भनिए पनि मंगलबार एकाएक पक्राउ परेका थिए।
रिजालको पक्राउ र रिहाईको यो घटनाक्रम शनिबार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको पक्राउपछि आएको हो। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षा संयन्त्रबाहेक अन्यमाथि आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
प्रहरी प्रवक्ता भट्टराईलाई मन्त्रिपरिषद्को निर्णयकै कारण रिजाल छुटेको हो भन्ने प्रश्नमा उनले भने, ‘मन्त्रिपरिषद्को निर्णयमा दुई वटा कुरा उल्लेख छ। यस विषयमा उहाँहरूको हकमा के गर्ने हो भनेर बुझिराख्ने र पछि अगाडि बढ्ने भन्ने हो।’
रिजालको रिहाईपछि जेनजी प्रकरणको अनुसन्धानले नयाँ मोड लिएको छ। एकातिर सरकारले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्दै उच्च पदाधिकारीहरूमाथि कारबाहीको बाटो खोलेको थियो, अर्कोतिर पूर्वसीडीओको यसरी छिट्टै रिहाईले अनुसन्धानको दिशाबारे प्रश्न उब्जाएको छ। अब हेर्न बाँकी छ, यो घटनाक्रमले जेनजी आन्दोलनको छानबिनलाई कहाँ पुर्याउँछ।





