सुरक्षाको नाममा आचारसंहिता उल्लङ्घन? बालेन साहलाई निर्वाचन आयोगको दोस्रो स्पष्टीकरण

काठमाडौँ। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साह फेरि निर्वाचन आयोगको निगरानीमा परेका छन्। आयोगले उनलाई दोस्रो पटक स्पष्टीकरण सोध्दै सुरक्षाका नाममा खटाइएका सादा पोशाकका प्रहरी राजनीतिक गतिविधिमा संलग्न भएको विषयमा स्पष्ट जवाफ मागेको हो।

बालेनकी पत्नी सविना काफ्लेको सुरक्षाका लागि सादा पोशाकमा सुरक्षाकर्मी परिचालन गरिएको र ती सुरक्षाकर्मीहरू चुनावी घरदैलो कार्यक्रममा सहभागी भएको देखिने फोटो तथा भिडियो सार्वजनिक भएपछि विषय विवादमा तानिएको हो। ती दृश्यहरू सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिन थालेपछि राज्य संयन्त्रको दुरुपयोग गरिएको आरोपसहित तीव्र आलोचना सुरु भएको थियो।

निर्वाचन आयोगले सुरक्षाका लागि खटाइएका सुरक्षाकर्मी कुनै पनि हालतमा उम्मेदवारको पक्षमा भोट माग्ने, प्रचार–प्रसारमा संलग्न हुने वा राजनीतिक गतिविधिमा देखिनु निर्वाचन आचारसंहिता विपरीत हुने स्पष्ट गरेको छ। यही आधारमा आयोगले बालेनसँग लिखित स्पष्टीकरण मागेको बताइएको छ।

यो पहिलो पटक होइन, बालेन साह आयोगको कारबाही प्रक्रियामा तानिएको। यसअघि सामाजिक सञ्जालमार्फत एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै परेको उजुरीका आधारमा पनि आयोगले उनलाई स्पष्टीकरण सोधेको थियो।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार हालसम्म विभिन्न दल र स्वतन्त्र गरी २९ जनालाई स्पष्टीकरण सोधिएको छ। तीमध्ये १२ जनाले मात्रै जवाफ बुझाइसकेका छन् भने बाँकी उम्मेदवारको जवाफ आउने क्रम जारी छ। आयोगले निर्वाचन आचारसंहिताको कडाइका साथ पालना गराउने प्रतिबद्धता दोहोर्‍याएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button