पेट्रोल ४१, डिजेल ९४ : भारतीय मूल्यको झट्का, नेपालको अर्थतन्त्र उत्तानो पार्ने संकट

काठमाडौं — नेपाल आयल निगम लिमिटेडले जारी गरेको ताजा विवरणअनुसार अन्तर्राष्ट्रिय बजारमा भएको तीव्र मूल्यवृद्धि र भारतीय आपूर्ति मूल्य बढेसँगै नेपालमा पेट्रोलियम पदार्थको लागतमा उल्लेखनीय वृद्धि भएको छ। विशेषगरी भारतबाट आयात हुने पेट्रोल र डिजेलको मूल्य क्रमशः प्रतिलिटर ४१ रुपैयाँ र ९४ रुपैयाँले बढेर आएको निगमले जनाएको छ।
यो मूल्यवृद्धि केवल इन्धनमै सीमित नरही समग्र अर्थतन्त्रमा श्रृंखलाबद्ध प्रभाव पार्ने देखिएको छ। डिजेलको मूल्यमा भएको उच्च वृद्धि ढुवानी क्षेत्रको मेरुदण्ड भएकाले यसको असर कृषि, उद्योग, निर्माण र सार्वजनिक यातायातसम्म फैलिने निश्चित जस्तै देखिएको छ। ढुवानी लागत बढेसँगै दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री, कच्चा पदार्थ तथा कृषि उपजको मूल्यमा व्यापक वृद्धि हुने संकेत देखिएको छ।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धिका कारण प्राप्त नयाँ खरिद मूल्यअनुसार स्वचालित प्रणालीमार्फत मूल्य समायोजन गर्नुपर्ने अवस्था सिर्जना भएको हो। यद्यपि, तत्कालका लागि पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा मूल्य यथावत् राखिएको छ भने हवाई इन्धनमा मात्र समायोजन गरिएको छ।
अर्थशास्त्रीहरूले यसलाई ‘मुद्रास्फीति बढाउने प्रमुख ट्रिगर’ का रूपमा व्याख्या गरेका छन्। उनीहरूका अनुसार ढुवानी भाडा बढेसँगै बजारमा वस्तु तथा सेवाको मूल्य शृंखलाबद्ध रूपमा महँगिनेछ, जसले उपभोक्ता खर्चमा प्रत्यक्ष असर पार्नेछ।
यातायात व्यवसायीहरूले लागत धान्न नसकिने अवस्था आउने चेतावनी दिएका छन् भने किसानहरू सिँचाइ, मल ढुवानी र उत्पादन बजारसम्म पुर्याउने खर्च बढ्ने चिन्तामा छन्। उद्योगीहरू उत्पादन लागत वृद्धि भई प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने डर व्यक्त गरिरहेका छन्।
सरकारका लागि अहिले चुनौती थपिएको छ। एकातिर मूल्य समायोजन नगर्दा निगमको घाटा बढ्ने जोखिम, अर्कोतर्फ मूल्य बढाउँदा जनजीवन महँगिने दबाब। विज्ञहरू भन्छन्, समयमै कर छुट, सहुलियत वा अन्य राहत प्याकेज ल्याउन नसके निकट भविष्यमा नेपाली अर्थतन्त्र थप दबाबमा पर्न सक्छ।
समग्रमा, पेट्रोलियम पदार्थमा आएको यो उछालले देशको आर्थिक संरचनामै गहिरो प्रभाव पार्ने संकेत देखिएको छ, जसले आगामी दिनमा नीति–निर्माताहरूको परीक्षा अझ कडा बनाउनेछ।





