१८ चैत्र २०८२, बुधबार

‘संयुक्त राष्ट्र सुधार : औपचारिकताभन्दा परिणाममुखी हुनुपर्छ’ : चिनियाँ राजदूतको जोड

काठमाडौं — संयुक्त राष्ट्रको जनादेश–सम्बद्ध सुधार औपचारिकता र नोकरशाही अभ्यासबाट मुक्त रही ठोस परिणाममा केन्द्रित हुनुपर्ने चिनियाँ राजदूतले बताएका छन्। साथै, यसले विगतका असफलताहरू – जस्तै अनावश्यक र दोहोरो संरचनाको सिर्जना – पुनः नदोहोर्याउन सचेत रहनुपर्नेमा जोड दिइएको छ।

संयुक्त राष्ट्रमा चीनको उप स्थायी प्रतिनिधि सुन लेईले ‘प्रभावकारी र कार्यक्षम संयुक्त राष्ट्रका लागि जनादेश सिर्जना, कार्यान्वयन र समीक्षा’ सम्बन्धी महासभाको मस्यौदा प्रस्तावमाथिको व्याख्याका क्रममा भन्नुभयो, ‘हालको अन्तर्राष्ट्रिय परिस्थिति जटिल बन्दै गइरहेको छ, विश्वव्यापी चुनौतीहरू बढ्दो छन्, र बहुपक्षीयता तथा संयुक्त राष्ट्र संघमा ठूलो आघात पुगेको छ।’

उहाँले संयुक्त राष्ट्रको सुधार र नवीकरणका लागि चीनको समर्थन रहेको स्पष्ट पार्दै भन्नुभयो, ‘चीन संयुक्त राष्ट्रले समयसँगै आफूलाई परिवर्तन गर्दै, सदस्य राष्ट्रहरूले प्रदान गरेको जनादेशलाई प्रभावकारी रूपमा पूरा गर्न सकोस् भन्ने पक्षमा छ।’

यो प्रस्ताव संयुक्त राष्ट्रको ‘८०औं वार्षिकोत्सव पहल’ को महत्वपूर्ण भाग भएको उल्लेख गर्दै सुनले जनादेश सिर्जना, कार्यान्वयन र समीक्षाका लागि यसले महत्वपूर्ण सिद्धान्त र उपयोगी कार्यहरू अघि सारेको बताउनुभयो। ‘हामी आशा गर्दछौं कि यी सिद्धान्त र कार्यहरू प्रभावकारी रूपमा कार्यान्वयन हुनेछन् र सदस्य राष्ट्र तथा सचिवालयलाई उपयोगी मार्गदर्शन प्रदान गर्नेछन्।’

सुधारको उद्देश्य संयुक्त राष्ट्रको प्रभावकारिता र कार्यक्षमता अभिवृद्धि गर्नु रहेको र यसले संयुक्त राष्ट्रको अख्तियार पुनर्जीवित गर्ने र यसको सक्रियता नवीकरण गर्ने लक्ष्यमा सहयोग पु¥याउनुपर्ने उहाँको भनाइ छ। सुधार संयुक्त राष्ट्र बडापत्रको उद्देश्य र सिद्धान्तप्रति प्रतिबद्ध रहनुपर्ने, सबै सदस्य राष्ट्रहरूको नेतृत्व र समान सहभागितालाई प्रभावकारी रूपमा संरक्षण गर्नुपर्ने, र संगठनको तीन स्तम्भ (शान्ति, विकास र मानवअधिकार) लाई सन्तुलित रूपमा अगाडि बढाउनुपर्नेमा उनले जोड दिए।

विकासोन्मुख देशहरू संयुक्त राष्ट्रको दुई तिहाइ सदस्य रहेको सन्दर्भमा सुनले सुधारले विकासोन्मुख देशहरूको जरुरी आवश्यकता र साझा चासोलाई पूर्ण रूपमा समेट्नुपर्ने, विकास स्तम्भ र विकाससम्बन्धी जनादेशमा पर्ने असरलाई विशेष ध्यान दिनुपर्ने, र ‘२०३० एजेन्डा’ कार्यान्वयनका लागि संस्थागत तथा स्रोत सहायतालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।

‘सुधार कार्य–उन्मुख हुनुपर्छ,’ भन्दै उहाँले सचिवालयलाई विद्यमान स्रोत र संयन्त्रको पूर्ण उपयोग गर्दै, दक्षताको संस्कृति विकास गर्दै, बजेट अनुशासन सुदृढ गर्दै, र सम्पूर्ण संयुक्त राष्ट्र प्रणालीको गुणस्तर तथा दक्षतामा सुधार गर्न यो प्रस्तावअनुसार काम गर्न आह्वान गरे।

चीनले संयुक्त राष्ट्रको दीर्घकालीन विकास र विश्वव्यापी सुशासनमा सुधारका लागि सबै राष्ट्रहरू र सचिवालयसँगको सहकार्यमा रचनात्मक भूमिका खेल्न जारी राख्ने उनले प्रतिबद्धता व्यक्त गरे।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button