१८ चैत्र २०८२, बुधबार

लामो दूरीको क्षेप्यास्त्र तैनाथीविरुद्ध जापानभर प्रदर्शन : संविधानको अन्त्यको आशंका

काठमाडौं — जापान सरकारले देशभर लामो दूरीको क्षेप्यास्त्र तैनाथ गर्ने निर्णय गरेपछि नागरिकहरूले मंगलबार साँझ व्यापक विरोध प्रदर्शन गरेका छन्। प्रतिरक्षा मन्त्री शिन्जिरो कोइजुमीले सोही दिन कुमामोटो र शिजुओका प्रिफेक्चरहरूमा प्रतिआक्रमण क्षमतायुक्त लामो दूरीका क्षेप्यास्त्र तैनाथ गरिएको जानकारी दिएपछि जापानभर आक्रोश फैलिएको हो।

जापानी सञ्चारमाध्यमका अनुसार प्रतिरक्षा मन्त्रालयले कुमामोटोको क्याम्प केन्गुनमा स्तरोन्नति गरिएको टाइप–१२ भूमिबाट प्रहार हुने जहाजविरोधी निर्देशित क्षेप्यास्त्रको भूमि–प्रक्षेपण संस्करण र शिजुओकाको क्याम्प फुजीमा टापु रक्षाका लागि हाइपर भेलोसिटी ग्लाइडिङ प्रोजेक्टाइलहरू तैनाथ गरेको छ। क्योदो समाचार संस्थाले यसलाई जापानको पहिलो प्रतिआक्रमण क्षमता अधिग्रहणको रूपमा व्याख्या गरेको छ, जसले युद्ध त्याग गर्ने संविधानअन्तर्गत जापानको ‘विशुद्ध रक्षात्मक’ नीतिबाट परिवर्तनको संकेत गरेको छ।

टोकियोमा मुसलधारे वर्षाको बीचमा पनि ठूलो संख्यामा मानिसहरू प्रतिरक्षा मन्त्रालय बाहिर जम्मा भए। उनीहरूले ‘लामो दूरीको क्षेप्यास्त्र तैनाथी रोक!’ ‘जनतालाई उचित स्पष्टीकरण देऊ!’ र ‘युद्धको तयारी होइन!’ जस्ता नाराहरू लगाए।

प्रदर्शनकारी हिरोमी यामाजाकीले सिन्ह्वा समाचार संस्थासँग भनिन्, ‘पछिल्ला वर्षहरूमा जापान सरकारले तथाकथित “पूर्वी एसिया संकट” र “टाइवान आकस्मिकता” को प्रायः उल्लेख गर्दै अशान्ति फैलाउने काम गरिरहेको छ, तर यी संकटहरू कहाँबाट आउँछन् भन्ने हामी बुझ्दैनौं।’ उनले यो तैनाथीले ‘जापान सरकारको खतरनाक प्रकृतिलाई उजागर गरेको’ बताइन्।

अर्का प्रदर्शनकारी इकेडाले यो तैनाथीले सैन्य विस्तारलाई प्राथमिकता दिएको तर स्थानीय बासिन्दाको चासोलाई पूर्ण रूपमा बेवास्ता गरेको आरोप लगाए। प्रदर्शनकारी काजुया सुकामोटोले भने भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा यो मुद्दा प्रमुख विषय नभएको र यो निर्णय छिटो अगाडि बढाइएर ‘पूर्णतया भइसकेको तथ्य’ जस्तो बनाइएको आरोप लगाए। उनले शीर्ष तहबाट थोपरिएको यो निर्णयलाई ‘अत्यन्त असंगत’ भन्दै आलोचना गरे।

इबाराकी प्रिफेक्चरकी एक महिला प्रदर्शनकारीले आफ्नो घर नजिकै पनि आत्मरक्षा सेनाको आधार रहेको र त्यहाँ पनि यस्तै तैनाथी हुन सक्ने आशंकाले चिन्तित रहेको बताइन्। उनले यो कदम संवैधानिक नहुन सक्ने चेतावनी दिँदै यसको व्यापक प्रभावबारे डर व्यक्त गरिन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार क्याम्प केन्गुन र क्याम्प फुजी नजिकका बासिन्दाहरूले पनि प्रदर्शन गरी क्षेप्यास्त्र तैनाथी फिर्ताको माग गरेका छन्। क्याम्प फुजीमा एक प्रदर्शनकारीले सरकारले स्थानीय समुदायलाई दिएको वाचा तोडेको र व्याख्यात्मक बैठकसमेत नगरी यो निर्णय अगाडि बढाएको भन्दै तीव्र आक्रोश व्यक्त गरे।

यसैबीच, जापानको क्याबिनेट लेजिस्लेसन ब्युरोका पूर्वमहानिर्देशक मासाहिरो साकाताले संविधानको धारा ९ अन्तर्गत जापानसँग आत्मरक्षाका लागि मात्र आवश्यक क्षमता हुनुपर्ने बताए। तर सामूहिक आत्मरक्षामा लगाइएको प्रतिबन्ध क्रमशः खुकुलो बनाइँदै जाँदा जापान अब प्रत्यक्ष आक्रमणको सामना नगरेको अवस्थामा पनि बल प्रयोग गर्न सक्ने अवस्थामा पुगेको उनको भनाइ छ। उनले लामो दूरीका क्षेप्यास्त्र तैनाथीले जापानलाई विदेशी भूमिमा आक्रमण गर्न सक्ने बनाएको र यसले धारा ९ व्यावहारिक रूपमा खोक्रो बनाएको चेतावनी दिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button