१८ चैत्र २०८२, बुधबार

मध्यपूर्व तनावमा पाकिस्तानको मध्यस्थता सबैको हितमा : चिनियाँ विदेशमन्त्री वाङ यी

काठमाडौं — चिनियाँ विदेशमन्त्री वाङ यीले मध्यपूर्वको तनाव न्यूनीकरणमा पाकिस्तानको मध्यस्थता प्रयास सबै पक्षको साझा हितमा रहेको बताएका छन्। चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्यसमेत रहेका वाङ यीले मंगलबार बेइजिङमा पाकिस्तानी उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इशाक दारसँगको वार्तामा यो धारणा राखेका हुन्।

वार्ताका क्रममा दुवै पक्षले हालका अन्तर्राष्ट्रिय मुद्दा तथा क्षेत्रीय द्वन्द्वबारे विचार आदानप्रदान गरे। इस्लामावादमा चारपक्षीय विदेशमन्त्रीस्तरीय बैठक आयोजना गरेपछि मध्यपूर्वको तनाव न्यूनीकरणका लागि छलफल गर्न बेइजिङ आएको पाकिस्तानी पक्षको भ्रमणलाई वाङ यीले स्वागत गरे।

वाङ यीले स्थिति सहजीकरण र शान्ति वार्ता पुनः सुरु गर्न पाकिस्तानले अद्वितीय एवं महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउँदै चीनले यसलाई समर्थन गर्ने र यसबाट सकारात्मक अपेक्षा रहेको उल्लेख गरे। यो प्रक्रिया सहज नभएको तर पाकिस्तानको मध्यस्थता सबै पक्षको साझा हितमा रहेको उनको भनाइ छ। शीघ्र युद्धविराम गराउन, शान्तिका अवसर सिर्जना गर्न र शान्ति वार्ताको झ्याल खोल्न चीन पाकिस्तानसँग सहकार्य गर्न तयार रहेको उनले बताए।

द्विपक्षीय सम्बन्धको सन्दर्भमा वाङ यीले यो वर्ष चीन–पाकिस्तान कूटनीतिक सम्बन्ध स्थापनाको ७५औं वार्षिकोत्सव भएको उल्लेख गर्दै दुवै पक्षले दुई देशका नेताहरूबीच भएको महत्वपूर्ण सहमति कार्यान्वयन गर्दै चीन–पाकिस्तान साझा भविष्यको समुदाय निर्माणलाई निरन्तर अगाडि बढाउनुपर्नेमा जोड दिए।

पाकिस्तानी विदेशमन्त्री दारले चीन–पाकिस्तान मित्रता बहुमूल्य र जनताको हृदयमा गहिरोसँग गाडिएको बताउँदै पाकिस्तान चीनसँग सबै मौसमको रणनीतिक साझेदारी सम्बन्धको निरन्तर विकासका लागि सहकार्य गर्न तयार रहेको उल्लेख गरे। इरानको स्थितिमा पाकिस्तानको मध्यस्थतालाई चीनले समर्थन गरेकोमा दारले धन्यवाद व्यक्त गरे। हालको द्वन्द्वले अन्तर्राष्ट्रिय ऊर्जा आपूर्तिमा बाधा पुर्याएको र विकासोन्मुख देशहरूलाई ठूलो क्षति पुर्याएको उनको भनाइ छ।

दारले वार्ताबाट मात्र समाधान निस्कन सक्ने बताउँदै पाकिस्तान सबै पक्षलाई शीघ्र शान्ति वार्ता सुरु गर्न र क्षेत्रीय शान्ति पुनर्स्थापना गर्न चीनसँग सञ्चार र समन्वय बलियो बनाउन तयार रहेको जानकारी दिए।

दुवै पक्षले खाडी र मध्यपूर्व क्षेत्रमा शान्ति तथा स्थायित्व पुनर्स्थापनाका लागि पाँचबुँदे पहलसमेत प्रस्तुत गरेका छन्। यस वार्ताले क्षेत्रीय द्वन्द्व समाधानमा चीन–पाकिस्तान सहकार्यको महत्वपूर्ण सन्देश दिएको छ। मध्यपूर्वमा बढ्दो तनावका बीच दुवै देशले कूटनीतिक मध्यस्थतामार्फत शान्ति प्रक्रियालाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button