१८ चैत्र २०८२, बुधबार

खाडी–मध्यपूर्व शान्तिका लागि चीन–पाकिस्तानको पाँचबुँदे पहल

काठमाडौं — मध्यपूर्व र खाडी क्षेत्रमा शान्ति तथा स्थायित्व पुनर्स्थापना गर्न चीन र पाकिस्तानले संयुक्त रूपमा पाँचबुँदे पहल अघि सारेका छन्। चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानी उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इशाक दारबीच मंगलबार बेइजिङमा भएको वार्तापछि यो पहल सार्वजनिक गरिएको हो।

वार्ताका क्रममा दुवै पक्षले खाडी र मध्यपूर्व क्षेत्रको अवस्थाको समीक्षा गर्दै निम्न पाँचबुँदे पहल प्रस्तुत गरेका छन् :

चीन र पाकिस्तानले शत्रुता तत्काल बन्द गर्न र द्वन्द्व फैलिनबाट रोक्न सकेसम्मको प्रयास गर्न आह्वान गरेका छन्। युद्धप्रभावित सबै क्षेत्रमा मानवीय सहायता पु¥याउन अनुमति दिनुपर्नेमा जोड दिइएको छ।

इरान र खाडी मुलुकहरूको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वतन्त्रता र सुरक्षाको संरक्षण गर्नुपर्ने उल्लेख गर्दै द्वन्द्व समाधानको एकमात्र व्यवहारिक विकल्प संवाद र कूटनीति रहेको पहलमा भनिएको छ। चीन र पाकिस्तानले सम्बन्धित पक्षहरूलाई वार्ता सुरु गर्न समर्थन गर्ने, सबै पक्षले विवाद शान्तिपूर्ण समाधान गर्ने प्रतिबद्धता जनाउने र शान्ति वार्ताका क्रममा बल प्रयोग वा बलको धम्की नदिने सुनिश्चित गर्नुपर्ने बताएका छन्।

सैन्य द्वन्द्वमा नागरिकको संरक्षणको सिद्धान्त पालना गर्नुपर्नेमा जोड दिँदै चीन र पाकिस्तानले द्वन्द्वरत पक्षहरूलाई नागरिक र गैरसैन्य लक्ष्यमाथिको आक्रमण तत्काल रोक्न, अन्तर्राष्ट्रिय मानवीय कानुनको पूर्ण पालना गर्न, र ऊर्जा, खानेपानी शुद्धीकरण, विद्युत् सुविधा तथा आणविक ऊर्जा केन्द्रजस्ता महत्वपूर्ण पूर्वाधारमा आक्रमण बन्द गर्न आह्वान गरेका छन्।

होर्मुज जलडमरू र यसको आसपासको क्षेत्र वस्तु तथा ऊर्जाको विश्वव्यापी महत्वपूर्ण जलमार्ग भएको उल्लेख गर्दै चीन र पाकिस्तानले सम्बन्धित पक्षहरूलाई होर्मुज जलडमरूमा अलपत्र परेका जहाज र चालक दलको सुरक्षा सुनिश्चित गर्न, नागरिक र व्यावसायिक जहाजलाई सुरक्षित पार गर्न अनुमति दिन, र शीघ्र जलडमरूको सामान्य सञ्चालन पुनर्स्थापना गर्न आह्वान गरेका छन्।

वास्तविक बहुपक्षीयताको अभ्यास गर्न, संयुक्त राष्ट्रको सर्वोच्चतालाई सामूहिक रूपमा सुदृढ गर्न, र संयुक्त राष्ट्र बडापत्र तथा अन्तर्राष्ट्रिय कानुनको उद्देश्य र सिद्धान्तका आधारमा व्यापक शान्ति संरचना स्थापना र दिगो शान्ति हासिल गर्ने सम्झौतालाई समर्थन गर्न चीन र पाकिस्तानले आह्वान गरेका छन्।

यो पाँचबुँदे पहलले मध्यपूर्वमा बढ्दो तनाव र होर्मुज जलडमरूको नाकाबन्दीले सिर्जना गरेको जटिल परिस्थितिमा कूटनीतिक समाधानको खोजीलाई प्राथमिकता दिएको छ। चीन र पाकिस्तानले यस पहलमार्फत तत्काल युद्धविराम, शान्ति वार्ता, नागरिक सुरक्षा, जलमार्गको सुरक्षा र संयुक्त राष्ट्र बडापत्रको सर्वोच्चतालाई केन्द्रबिन्दुमा राखेका छन्। यो पहलले द्वन्द्व समाधानका लागि अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने र क्षेत्रीय स्थायित्व पुनर्स्थापनाका लागि नयाँ कूटनीतिक पहलको ढोका खोल्ने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button