मादक पदार्थ र मानव तस्करी विरुद्ध सहकार्य

यूएनडीसी नयाँ प्रतिनिधिलाई परराष्ट्रमन्त्रीकाे शुभकामना

काठमाडौं : नयाँ दिल्लीस्थित संयुक्त राष्ट्र सङ्घको मादक पदार्थ र अपराध कार्यालय (यूएनडीसी) का दक्षिण एशियाई क्षेत्रीय प्रतिनिधिमा नियुक्त भएका मिस्टर क्रिस्टियान होल्गेले आज परराष्ट्र मन्त्रालय पुगेर माननीय परराष्ट्रमन्त्री बालानन्द शर्मा समक्ष आफ्नो परिचय पत्र बुझाए।

परिचय पत्र बुझाएपछि प्रतिनिधि होल्गेले माननीय मन्त्रीसँग शिष्टाचार भेटघाट गरे। यसै क्रममा उनले मन्त्री शर्मालाई नेपाल र यस क्षेत्रमा यूएनडीसीले गरिरहेको गतिविधिहरूबारे जानकारी दिए।

यूएनडीसीको दक्षिण एशियाका नयाँ क्षेत्रीय प्रतिनिधिको रूपमा नियुक्ति हुनुभएकोमा माननीय परराष्ट्रमन्त्री शर्माले मिस्टर होल्गेलाई बधाई दिंदै नेपाल आउनुभएकोमा स्वागत गरे।

मन्त्री शर्माले यस अवसरमा मादक पदार्थ र मानव तस्करी जस्ता अवैध तस्करी नियन्त्रण गर्न नेपाल र यूएनडीसीबीच सहकार्यको महत्वमाथि बल दिए। उनले मिस्टर होल्गेको कार्यकाल सफल र सार्थक हुन्छ भन्ने कामना पनि व्यक्त गरे।

यूएनडीसीको दक्षिण एशिया क्षेत्रीय कार्यालय नयाँ दिल्लीमा रहेको छ भने यसको कार्यक्षेत्रमा नेपाल, भारत, बङ्गलादेश, श्रीलंका, माल्दिभ्स र भूटान रहेका छन्। मिस्टर होल्गेको नियुक्तिले यस क्षेत्रमा अवैध मादक पदार्थको प्रवाह, मानव तस्करी र सङ्गठित अपराधजन्य गतिविधि विरुद्धको सहकार्यमा नयाँ गति आउने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button