कर्मापाको पवित्र वाणी : आठ दिने कर ख्येन महासाधना, विश्वभरिका श्रद्धालुलाई आह्वान

काठमाडौं – नेपाल कर ख्येन दुंगड्रुप महासाधना, परम पूज्य १६ औँ ग्याल्वाङ कर्मापा, राङजुङ रिग्पे दोर्जेद्वारा पावन वचन र निर्देशनअनुसार स्थापित एक पवित्र परम्पराको रूपमा रहेको छ। उहाँद्वारा प्रतिपादित चार कायाको गुरु योग अंकुर प्रस्फुटनमा आधारित रही, यो महान साधना परम्पराअनुसार आठ दिनसम्म सम्पन्न गरिँदै आएको छ।
यसै सन्दर्भमा, पाँचौँ महान समागम निकट आइपुगेको छ। यसको समय २०२६ अप्रिल २४ देखि मे १ सम्म (जम्मा आठ दिन) तोकिएको छ। यो पवित्र धर्मसभा निम्न महान उद्देश्यका साथ आयोजना गरिएको हो:
· सामान्य तथा विशेष अवरोधहरूको शुद्धि
· परम पूज्य गुरुको आशीर्वादलाई चित्तमा अवतरण गराउनु
· अपरिमित तथा अनुपम पुण्य संचय गर्नु

आयोजकले देश तथा विदेशमा रहेका सम्पूर्ण श्रद्धालु, धर्मानुरागीहरू, भिक्षु–भिक्षुणी तथा गृहस्थ उपासक–उपासिकाहरू सबैलाई एक भावनामा एकत्रित भई आ–आफ्नो श्रद्धाअनुसार कर ख्येन महासाधनाको जप संचयमा सहभागी हुन हार्दिक अनुरोध गरेको छ।
आयोजकको भनाइ छ– ‘तपाईंको भक्तिपूर्ण सहभागिताले सबैका पवित्र संकल्प र प्रार्थनाहरू पूर्ण हुनेछन्। यस सूचनालाई हृदयंगम गरिदिनुहुन हामी विनम्र प्रार्थना गर्दछौं।’

सम्पूर्ण धर्म साधकहरूले यसलाई ध्यानपूर्वक ग्रहण गर्न आग्रह गरिएको छ। यो सूचना २०२६ अप्रिल १ मा पूर्वसूचनाको रूपमा प्रस्तुत गरिएको हो।
यो महासाधनाले धार्मिक साधनामा रत श्रद्धालुहरूका लागि आध्यात्मिक उन्नति, आशीर्वाद र पुण्य संचयको अपूर्व अवसर प्रदान गर्ने विश्वास गरिएको छ। नेपाल कर ख्येन दुंगड्रुप छेनमो व्यवस्थापन कार्यालयद्वारा सविनय प्रस्तुत यो आह्वानले सम्पूर्ण धर्मावलम्बीहरूमा आध्यात्मिक एकताको सन्देश प्रवाह गरेको छ।





