१८ चैत्र २०८२, बुधबार

पश्चिम एसियाको आगोले नेपालको आकाश ततायो : धनगढी उड्न ११ हजार फ्यूल सरचार्ज मात्रै

काठमाडौं – पश्चिम एसियामा एक महिनादेखि जारी युद्धको प्रभावले नेपालको आन्तरिक हवाई उडानको भाडा आकाशिएको छ। हवाई इन्धनको मूल्य ९८ प्रतिशतले बढेपछि आन्तरिक उडानको भाडा झण्डै दोब्बरले वृद्धि भएको हो। वायुसेवा सञ्चालक संघका सदस्य तथा बुद्ध एयरका निर्देशक रुपेश जोशीका अनुसार इन्धन मूल्यवृद्धिकै कारण ‘फ्यूल सरचार्ज’ बढ्दा सबैभन्दा धेरै असर काठमाडौं–धनगढी रुटमा परेको छ।

नयाँ दरअनुसार काठमाडौं–धनगढी रुटको फ्यूल सरचार्ज मात्रै एकैपटक ५ हजार ४ सय ८० रुपैयाँले बढेर ११ हजार ९० रुपैयाँ पुगेको छ। मंगलबारसम्म यो रुटको फ्यूल सरचार्ज ५ हजार ६ सय १० रुपैयाँ मात्रै थियो। यसमा एयर फेयर, भ्याट र विमानस्थल सेवा शुल्क थप गर्नुपर्ने हुनाले अब यो रुटको टिकट मूल्य थप महँगो हुनेछ।

त्यस्तै, अन्य रुटमा पनि फ्यूल सरचार्ज यसरी बढेको छ:

· पर्वतीय (माउन्टेन) उडान: ४२ सय ५५ ले वृद्धि → ८ हजार ६ सय १५
· काठमाडौं–सुर्खेत: ४२ सय ८५ ले वृद्धि → ८ हजार ६ सय ५७
· काठमाडौं–नेपालगन्ज: ४ हजार ४५ ले वृद्धि → ८ हजार १ सय ८५
· काठमाडौं–भद्रपुर: ३७ सय २५ ले वृद्धि → ७ हजार ५ सय ४०
· काठमाडौं–विराटनगर: २९ सय ८० ले वृद्धि → ६ हजार २०
· काठमाडौं–भैरहवा: २५ सय ५५ ले वृद्धि → ५ हजार १ सय ७०
· काठमाडौं–पोखरा: १९ सय ७० ले वृद्धि → ३ हजार ९ सय ८५
· काठमाडौं–जनकपुर: १६ सयले वृद्धि → ३ हजार २ सय ३०
· काठमाडौं–भरतपुर: १३ सय ३० ले वृद्धि → २ हजार ६ सय ९०
· काठमाडौं–सिमरा: ११ सय २० ले वृद्धि → २ हजार २ सय ६०

नयाँ हवाई भाडा बुधबार बिहान १ बजेदेखि नै लागु भइसकेको छ। वायुसेवा सञ्चालक संघका कोषाध्यक्ष जोशीले भने, ‘हवाई इन्धनको मूल्यमा पहिले–पहिले सामान्य वृद्धि हुँदा दुई दिन कुर्थ्यो, यसपटक हिजै रातिदेखि नै फ्यूल सरचार्ज लागु भयो।’

यसको मुख्य कारण हो– हवाई इन्धनको मूल्यमा भएको भारी वृद्धि। नेपाल आयल निगमले प्रतिलिटर १२७ मा बिक्री भइरहेको हवाई इन्धनको मूल्य बढाएर २५१ रुपैयाँ कायम गरेको छ। यो करिब ९८ प्रतिशतको वृद्धि हो।

निगमले पश्चिम एसियाको युद्धकै कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको जनाएको छ। यही कारण पछिल्लो १५ दिनमै निगमलाई करिब ५ अर्ब रुपैयाँ घाटा व्यहोर्नुपरेको छ। भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४१.६०, डिजेलमा ९४.९३, हवाई इन्धनमा १२३.८० र एलपी ग्यासमा प्रतिसिलिन्डर १९०.३६ ले मूल्य बढेको छ।

तर, निगमले उपभोक्ताको हितलाई ध्यानमा राख्दै पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ। यसले गर्दा निगमलाई पेट्रोलमा प्रतिलिटर ४७.१२, डिजेलमा १३३.४५ तथा एलपी ग्यासमा प्रतिसिलिन्डर ४१६.३७ रुपैयाँ घाटा भइरहेको छ। कुल मिलाएर निगमलाई १३ अर्ब २१ करोड रुपैयाँ घाटा पुगिसकेको छ।

निगमले मूल्य स्थिरीकरण कोषको समेत उपयोग गर्दै उपभोक्तालाई राहत दिने प्रयास भइरहेको जनाएको छ। तर आन्तरिक उडानमा भने फ्यूल सरचार्जको रूपमा यो मूल्यवृद्धिले यात्रुलाई प्रत्यक्ष असर गरिसकेको छ। अब यात्रुले पहिलेभन्दा लगभग दोब्बर मूल्य तिरेर आन्तरिक उडान गर्नुपर्ने अवस्था आएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button