१८ चैत्र २०८२, बुधबार

प्रधानमन्त्री कार्यालयको निर्देशनपछि लुम्बिनीमा विद्युतीय बस सञ्चालन : पर्यटकका लागि नि:शुल्क सेवा सुरु

लुम्बिनी — लामो समयदेखि लुम्बिनीमा अलपत्र परेका पाँच विद्युतीय बस अन्ततः सञ्चालनमा आएका छन्। प्रधानमन्त्री कार्यालयको प्रत्यक्ष निर्देशनपछि बुधबारबाट यी मध्ये दुई बसले नियमित सेवा सुरु गरेका हुन्। लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई सहजता प्रदान गर्न ल्याइएका यी बस संचालन हुन नसकेपछि संस्कृति तथा पर्यटन मन्त्रालयले काठमाडौँ लैजाने तयारी गरिरहेको थियो।

गत सोमबार प्रधानमन्त्री कार्यालयबाट टेलिफोन गरी बस सञ्चालनमा विशेष चासो व्यक्त गरिएको थियो। कान्तिपुर अनलाइनका अनुसार प्रधानमन्त्री कार्यालयले यी बस लुम्बिनीमै सञ्चालन गर्न निर्देशन दिएको थियो। सोही निर्देशनपछि बुधबार बिहानदेखि एउटा अत्याधुनिक विद्युतीय बस लुम्बिनी–भैरहवा–बेलहिया रुटमा सञ्चालनमा आएको लुम्बिनी विकास कोषका सदस्य–सचिव दीपक श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार अर्को बस चार्ज हुने क्रममा रहेको छ र त्यो बस चार्ज भएपछि आजैबाट तिलौराकोट–भैरहवा–रामग्राम रुटमा सञ्चालनमा आउनेछ। हाल दुईवटा बस मात्र सञ्चालन हुन सक्ने अवस्थामा रहेको र अन्य तीनवटा बसको मर्मत प्रक्रिया सुरु गरिएको कोषले जनाएको छ। अहिलेका लागि बस सेवा नि:शुल्क राखिएको छ। एक÷दुई दिनभित्र बसको ढोकामा स्वेच्छिक सहयोग गर्नेहरूका लागि क्युआर कोड राखिने र कार्यविधि तयार भएपछि मात्र भाडा लिएर सञ्चालन गरिने श्रेष्ठले बताए।

वातावरण प्रदूषण न्यूनीकरण गर्दै पर्यटकलाई सुविधा पुर्याउन २०७७ मंसिर र पुसमा गरी एसियाली विकास बैंकको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत अत्याधुनिक १४ वटा ट्याक्सी (भ्यान) र पाँचवटा बस लुम्बिनी ल्याइएको थियो। करिब १३ करोड रुपैयाँ लागत बराबरका बस तथा ट्याक्सी भित्र्याइएकोमा नेपाल सरकारले साढे ३ करोड भन्सार शुल्क बेहोरेको थियो।

तर, यी बसहरू लामो समयदेखि अलपत्र रहेका थिए। यसैबीच, १४ वटा ट्याक्सी (भ्यान) मध्ये १२ वटा कोषका पदाधिकारी र कर्मचारीले प्रयोग गर्दै आएका छन् भने दुईवटा दुर्घटनाका कारण चल्न नसक्ने अवस्थामा छन्।

प्रधानमन्त्री कार्यालयको निर्देशनपछि अलपत्र बस सञ्चालनमा आएपछि लुम्बिनी क्षेत्रमा पर्यटकीय सेवा विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। यी बसले लुम्बिनीको पवित्र धरोहर क्षेत्रमा हुने पर्यटकको आवतजावतलाई थप सहज र व्यवस्थित बनाउने विश्वास गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button