सुरक्षित र सहज अटो डेटा प्रवाहतर्फ चीनको नयाँ कदम

सीमापार सवारीसाधन डेटा हस्तान्तरणका लागि २०२६ मार्गदर्शन जारी

बेइजिङ। चीनले सीमापार सवारी साधन सम्बन्धी डेटा हस्तान्तरणलाई अझ सुरक्षित, सहज र प्रभावकारी बनाउने उद्देश्यसहित सन २०२६ संस्करणको अटोमोबाइल डेटा क्रस–बोर्डर ट्रान्सफर सुरक्षा मार्गदर्शन सार्वजनिक गरेको छ। यो मार्गदर्शनले अटो उद्योगबाट हुने डेटा निर्यातलाई व्यवस्थित गर्दै उच्चस्तरीय सुरक्षा र गुणस्तरीय विकासबीच सन्तुलन कायम गर्ने लक्ष्य लिएको छ।

चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालय (एमआईआईटी) सहित आठवटा सरकारी निकायले संयुक्त रूपमा जारी गरेको यस मार्गदर्शनलाई चार प्रमुख खण्डमा विभाजन गरिएको छ। यसमा सामान्य प्रावधान, अटो उद्योगका विभिन्न परिदृश्यमा ‘महत्त्वपूर्ण डेटा’ पहिचान गर्ने नियम, डेटा निर्यातको प्रक्रिया तथा सुरक्षा संरक्षण सम्बन्धी आवश्यकताहरू समेटिएका छन्।

मार्गदर्शनमा विशेषगरी अनुसन्धान तथा विकास, उत्पादन, स्वचालित ड्राइभिङ, सफ्टवेयर अद्यावधिक जस्ता अटो उद्योगका संवेदनशील क्षेत्रहरूमा उत्पन्न हुने डेटालाई कसरी वर्गीकरण र पहिचान गर्ने भन्ने विषयलाई स्पष्ट पारिएको छ। यसले कुन डेटा सामान्य हो र कुन डेटा राष्ट्रिय तथा औद्योगिक सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको ‘महत्त्वपूर्ण डेटा’ हो भन्ने निर्धारणमा सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

एमआईआईटीका एक अधिकारीका अनुसार यो मार्गदर्शन चीनका विद्यमान कानुन तथा नियम डेटा सुरक्षा, व्यक्तिगत सूचना संरक्षण, नेटवर्क डेटा सुरक्षा र अटोमोबाइल डेटा सुरक्षा सम्बन्धी प्रावधान लाई व्यवहारमा उतार्ने उद्देश्यले तयार गरिएको हो। “यसले अटो उद्योगका लागि डेटा निर्यात प्रक्रियालाई सहज बनाउने मात्र होइन, सुरक्षित वातावरणमा उद्योगको उच्च गुणस्तरीय विकासलाई पनि प्रोत्साहन गर्नेछ,” अधिकारीले बताएका छन्।

उक्त मार्गदर्शन ग्लोबल क्रस–बोर्डर डेटा फ्लो कोअपरेसन इनिसिएटिभका सिद्धान्तहरू अनुरूप तयार गरिएको हो। अटोमोबाइल उद्योगलाई परीक्षण क्षेत्र (पाइलट फिल्ड) का रूपमा अघि सार्दै चीनले सीमापार अटो डेटा व्यवस्थापनका लागि आफ्नो ‘चीन समाधान’ प्रस्तुत गरेको अधिकारीहरूको भनाइ छ।

विश्लेषकहरूका अनुसार डिजिटल र स्मार्ट सवारीसाधनको युगमा डेटा नै अटो उद्योगको प्रमुख स्रोत बन्दै गएको सन्दर्भमा चीनको यो कदमले अन्तर्राष्ट्रिय सहकार्य, प्रविधि आदान प्रदान र विश्व बजारमा चिनियाँ अटो उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button