चिनियाँ नयाँ वर्षको यात्रामा उत्साह
पहिलो दिनमै रेलबाट १ करोड २२ लाखभन्दा बढी यात्रु भित्रिए

बेइजिङ। चीनमा चिनियाँ नयाँ वर्ष (स्प्रिङ फेस्टिभल) को अवसरमा सुरु भएको वार्षिक यात्रा भीड ‘छुन्युन’ ले पहिलो दिनमै रेकर्डजस्तै चहलपहल देखाएको छ। सन २०२६ को छुन्युनको पहिलो दिन सोमबार मात्र चिनियाँ रेलमार्गले करिब १ करोड २२ लाख ४० हजार यात्रु यात्रालाई सेवा दिएको चीन स्टेट रेलवे ग्रुप कम्पनी लिमिटेडले जनाएको छ।
कम्पनीका अनुसार मंगलबार बिहान ८ बजेसम्म राष्ट्रिय रेल टिकट बुकिङ प्लेटफर्म ‘१२३०६’ मार्फत छुन्युन अवधिका लागि ८ करोड ४४ लाख ९० हजारभन्दा बढी टिकट बिक्री भइसकेका छन्। छुन्युन यात्रा अवधि कुल ४० दिनको हुने र यो मार्च १३ सम्म चल्नेछ।
मंगलबार, यात्रा भीडको दोस्रो दिन, देशभर करिब १ करोड ११ लाख ५० हजार रेल यात्रु यात्रा गर्ने अनुमान गरिएको छ। बढ्दो मागलाई सम्बोधन गर्न रेल प्रशासनले थप ८७९ वटा अतिरिक्त रेल सेवा सञ्चालनमा ल्याएको जनाएको छ।
यस वर्ष चिनियाँ नयाँ वर्ष फेब्रुअरी १७ मा परेको छ। नयाँ वर्षको औपचारिक बिदा अवधि नौ दिनको रहनेछ, जसका कारण कामदार, विद्यार्थी र परिवारहरू आफ्नो जन्मथलो फर्कने क्रम तीव्र बनेको छ।
चीनको सबैभन्दा ठूलो वार्षिक मानवीय आवागमन मानिने छुन्युन अवधिमा यस वर्ष अन्तर–क्षेत्रीय यात्राको संख्या ९ अर्ब ५० करोड पुग्ने अनुमान गरिएको छ। यसमध्ये करिब ५४ करोड यात्रु यात्रालाई चिनियाँ रेलमार्गले मात्रै व्यवस्थापन गर्ने अपेक्षा गरिएको छ।
विशेषज्ञहरूका अनुसार, यातायात पूर्वाधारको विस्तार, डिजिटल टिकटिङ प्रणाली र अतिरिक्त रेल सेवाले यात्रुहरूको दबाब व्यवस्थापन गर्न महत्वपूर्ण भूमिका खेलेको छ। चिनियाँ नयाँ वर्षको उल्लाससँगै सुरु भएको यो विशाल यात्रा लहरले चीनको संगठित यातायात व्यवस्थापन क्षमतालाई फेरि एकपटक विश्वसामु प्रस्तुत गरेको छ।




