रुस–भारत : १०० अर्ब डलरको व्यापारिक लक्ष्य र आर्थिक सहकार्यको नयाँ यात्रा

नयाँ दिल्ली । रुस र भारतबीचको आर्थिक, व्यापारिक, वैज्ञानिक, प्राविधिक र सांस्कृतिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यले रुसी सरकारका प्रथम उपप्रधानमन्त्री तथा रुस–भारत अन्तरसरकारी आयोगका सह–अध्यक्ष डेनिस मान्तुरोभ भारतको भ्रमणमा आइपुगेका छन्।
उनी यस भ्रमणका क्रममा नयाँ दिल्लीमा द्विपक्षीय सहकार्यका विविध विषयमा व्यापक वार्ता तथा छलफलमा सहभागी हुनेछन्। रुसी दूतावासका अनुसार यो भ्रमण रुस–भारत सम्बन्धको इतिहासमा एउटा महत्वपूर्ण कोशेढुंगा सावित हुने अपेक्षा गरिएको छ।
भ्रमणभन्दा अगाडि मान्तुरोभले भने, ‘अन्तरसरकारी आयोगको कामको मुख्य केन्द्रबिन्दु अहिले व्यापार तथा आर्थिक सम्बन्धको व्यापक विस्तार, पारस्परिक भुक्तानी र लजिस्टिक्स चेनको स्थायित्व सुनिश्चित गर्ने, पारस्परिक बजार पहुँचका लागि अवस्था सुधार गर्ने, र नयाँ लगानी तथा सहकार्यका आयोजनाहरूको पहिचान र समर्थन गर्ने रहेको छ।’
उनले थपे, ‘यी योजनाहरू कार्यान्वयन गर्ने विशिष्ट कदमहरू, विशेष गरी डिसेम्बर २०२५ मा स्वीकृत २०३० सम्मको आर्थिक सहकार्य कार्यक्रममा उल्लिखित विषयहरू, र हालको विश्वव्यापी परिस्थितिको सन्दर्भमा, यस भ्रमणका क्रममा हाम्रा भारतीय साझेदारहरूसँगको बैठकमा छलफल गरिनेछ।’
यो भ्रमण त्यस्तो समयमा भएको छ जब रुस र भारतबीचको द्विपक्षीय व्यापारले नयाँ गति लिइरहेको छ। गत वर्ष डिसेम्बरमा सम्पन्न द्विपक्षीय शिखर सम्मेलनमा दुई देशले सन् २०३० सम्ममा व्यापार १०० अर्ब अमेरिकी डलर पुर्याउने लक्ष्य निर्धारण गरिसकेका छन्। हाल दुई देशबीच वार्षिक करिब ६५ अर्ब डलर बराबरको व्यापार हुँदै आएको छ।
रुसले भारतको ऊर्जा सुरक्षामा विशेष भूमिका खेलिरहेको छ। कुदन्कुलम आणविक ऊर्जा केन्द्रको निर्माण, अनुकूल शर्तमा हाइड्रोकार्बन आपूर्ति, र उत्तरी समुद्री मार्गमा सहकार्य जस्ता विषयहरू पनि वार्ताको एजेन्डामा रहने बताइएको छ। साथै, भारतले रुसको हितमा आइसब्रेकर (हिउँ चिर्ने) जहाज निर्माणको प्रस्ताव गरेको थियो, जुन प्रस्ताव दुवै देशबीचको उत्तरी समुद्री मार्ग सहकार्य सम्बन्धी कार्यदलमा गम्भीरतापूर्वक विचाराधीन रहेको जानकारी स्रोतले दिएको छ।
रुसी उपप्रधानमन्त्रीको यो भ्रमणले दुई पुराना मित्र राष्ट्रबीचको रणनीतिक साझेदारीलाई आर्थिक सहकार्यको नयाँ आयाममा विस्तार गर्ने अपेक्षा गरिएको छ। पश्चिमा प्रतिबन्ध र विश्वव्यापी आर्थिक उतारचढावका बीच रुसले आफ्नो व्यापारिक साझेदारीलाई विविधीकरण गर्दै पूर्व र दक्षिणका देशहरूसँगको सम्बन्धलाई प्राथमिकता दिइरहेको सन्दर्भमा यो भ्रमणलाई रणनीतिक दृष्टिले हेरिएको छ।





