नयाँ संसदको पहिलो दिन : गृहमन्त्रीबाट तीन अध्यादेश पेस हुँदै, सभामुख चयनको प्रक्रिया शुरू

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभाको पहिलो बैठक आजबाट सुरू हुँदैछ। आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश पेस गर्ने कार्यसूची रहेको छ। संसद् सचिवालयका अनुसार उनले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ पेस गर्ने तयारी छ।
बैठक सुरू हुनेबित्तिकै सभाका ज्येष्ठ सदस्य एवं पूर्वसभामुख अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र तथा राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउनेछन्। ज्येष्ठ सदस्य केसीले आफ्नो अनुपस्थितिमा बैठक सञ्चालन गर्ने अन्य तीन जना सदस्यहरूको नामसमेत प्रस्ताव गर्नेछन्।
बैठकको अन्त्यमा केसीले संविधानसभाका सदस्य एवं पूर्वसदस्यहरू ऋषिकेश गौतम, मोहम्मद आफताव आलम, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र संविधासभा तथा राष्ट्रियसभाका सदस्य बलदेव बोहोराको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन्।
आजको बैठकले सभामुख चयनको प्रक्रियालाई पनि अघि बढाउने सम्भावना छ। संविधानको धारा ९१ ले प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छ। यसैअनुसार पहिलो बैठकबाटै सभामुखको निर्वाचनको कार्यतालिका प्रकाशित गर्न महासचिवलाई जिम्मेवारी तोक्ने गरिन्छ।
संसदीय परम्पराअनुसार सभामुखको निर्वाचनपछि मात्र उपसभामुखको चुनाव हुने व्यवस्था छ। १५ दिनको समयसीमालाई मध्यनजर गर्दै पहिलो बैठकबाटै यो प्रक्रिया सुरू हुने निश्चितजस्तै छ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बैठक सञ्चालनका लागि भौतिक, सुरक्षा, प्राविधिक र जनशक्तिलगायत सबै तयारी पूरा भइसकेको जानकारी दिए। संघीय संसद्को माथिल्लो सभा राष्ट्रियसभाको बैठक भने सचिवालयस्थित राष्ट्रियसभा कक्षमा बस्नेछ।
राष्ट्रपतिले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसद्को अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ। निर्वाचन आयोगले यही चैत ५ गते ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ निर्वाचन परिणामसहितको प्रतिवेदन’ राष्ट्रपतिसमक्ष बुझाएको थियो।
दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १८२, नेपाली कांग्रेसका ३८, नेकपा (एमाले) का २५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का १७, श्रम संस्कृति पार्टीका सात, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पाँच र एक स्वतन्त्र सांसदको उपस्थिति रहेको छ। यो संख्यागत शक्ति सन्तुलनले नयाँ संसद्को पहिलो बैठकदेखि नै राजनीतिक गतिविधिलाई उच्च तीव्रता प्रदान गर्ने देखिन्छ।





