१९ चैत्र २०८२, बिहीबार

पहिलो बैठकमा प्रचण्ड मौन, पार्टीको तर्फबाट बर्षमान पुनले दिने शुभकामना

काठमाडौं । निर्वाचनपछि आज बस्ने प्रतिनिधिसभाको पहिलो बैठकमा पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन नगर्ने भएका छन्। यद्यपि पूर्वप्रधानमन्त्रीको हैसियतले उनी जुनसुकै बेला पनि बोल्न पाउने संसदीय अभ्यास छ।

पार्टीको तर्फबाट नेता बर्षमान पुनले सम्बोधन गर्ने केन्द्रीय कार्यालय स्रोतले जानकारी दिएको छ। आजको बैठकको कार्यक्रममा शुभकामना मात्रै दिने भएकाले पार्टीको तर्फबाट पुनले सम्बोधन गर्न लागेको नेकपा नेता तथा पार्टी प्रवक्ता कृष्णचन्द्र नेपाली पोखरेल (आचार्य) ले बताए।

आचार्यले भने, ‘पूर्वप्रधानमन्त्रीको हैसियतले उहाँले जुनसुकै बेला पनि बोल्न पाउने विगतको संसदीय अभ्यास छ। आजको बैठकमा शुभकामना मात्र दिने कार्यक्रम भएकाले पार्टीको तर्फबाट बर्षमान पुनले सम्बोधन गर्नुहुन्छ।’

प्रचण्ड नेतृत्वको पार्टीले आजको बैठकमा सभामुख चयनको प्रक्रियालगायतका औपचारिकतामा सहभागिता जनाउने भए पनि प्रचण्ड आफैले सम्बोधन नगर्ने निर्णय गरेको हो। राजनीतिक विश्लेषकहरू यसलाई प्रचण्डले पार्टीभित्रको नयाँ पुस्तालाई अगाडि सार्ने संकेतको रूपमा पनि हेरिरहेका छन्।

यसअघि नेपाली कांग्रेस, एमाले, रास्वपालगायत अन्य दलले आ–आफ्ना तर्फबाट पहिलो बैठकमा शुभकामना दिने तयारी गरेका छन्। तर प्रचण्डको अनुपस्थितिले भने निकै चर्चा पाएको छ। प्रतिनिधिसभाको पहिलो बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button