प्रतिनिधिसभाको पहिलो बैठक : रवि लामिछानेले पाउने २५ मिनेट, हर्कलाई पनि बोल्ने समय

काठमाडौं । निर्वाचनपछिको प्रतिनिधिसभाको पहिलो बैठक आज दिउँसो २ बजे सिंहदरबारको निर्माणाधीन नयाँ संसद भवनको बहुउद्देश्यीय हलमा बस्दैछ। आजको बैठकमा ६ वटा राष्ट्रिय दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। नवनिर्वाचित सांसदहरूको उपस्थितिमा हुने यस बैठकलाई नयाँ संसदीय यात्राको औपचारिक सुरुवातको रूपमा हेरिएको छ।
संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सभापति रवि लामिछानेले सम्बोधन गर्ने छन्। यसैगरी, नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बे, नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन र राप्रपाका ज्ञानबहादुर शाहीले सम्बोधन गर्ने कार्यसूची छ।
पहिलो पटक संसदमा प्रतिनिधित्व गर्ने श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले पनि बोल्ने छन्। यस्तै, स्वतन्त्र सांसद महावीर पुनका लागि पनि छुट्टै समय व्यवस्था गरिएको छ।
सचिवालयले दलीय आधारमा बोल्ने समय तोकेको छ। सबैभन्दा धेरै सांसद भएको दल रास्वपाले २५ मिनेट पाउने भएको छ। त्यस्तै, नेपाली कांग्रेसलाई १० मिनेट, एमालेलाई ८ मिनेट, नेकपा, श्रमसंस्कृति र राप्रपालाई ७–७ मिनेट तथा स्वतन्त्र सांसद महावीर पुनलाई ५ मिनेटको समय दिइने छ।
आजको बैठकमा अन्य महत्वपूर्ण कार्यसूची पनि रहेका छन्। जसमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने, तीन वटा अध्यादेश पेश गर्ने, सभामुख चयनको लागि निर्वाचन कार्यतालिका प्रस्तुत गर्ने, शोक प्रस्ताव पारित गर्ने लगायतका विषय रहेका छन्। पहिलो बैठकमै तीन अध्यादेश पेश गर्नुले नयाँ सरकारले अर्थतन्त्र र सुशासनका विषयलाई प्राथमिकता दिने संकेत गरेको छ।
निर्माणाधीन नयाँ संसद भवनको हलमा बस्न लागेको यो पहिलो बैठकलाई ऐतिहासिक मानिएको छ। दिउँसो २ बजे सुरु हुने बैठकले सभामुख चयनको प्रक्रिया पनि अघि बढाउने संकेत गरेको छ। नयाँ सरकार र नयाँ संसदको यो पहिलो भेलाले आगामी राजनीतिक दिशा तय गर्ने अपेक्षा गरिएको छ।





