मानवताको हितमा एआईलाई दिशानिर्देश गर्ने पहल

संयुक्त राष्ट्रसंघद्वारा स्वतन्त्र अन्तर्राष्ट्रिय वैज्ञानिक प्यानल गठन

काठमाडौँ। कृत्रिम बुद्धिमत्ता (एआई) ले विश्वलाई तीव्र गतिमा रूपान्तरण गरिरहेको सन्दर्भमा संयुक्त राष्ट्रसंघले मानवहित सुनिश्चित गर्ने उद्देश्य सहित ऐतिहासिक कदम चालेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुधबार कृत्रिम बुद्धिमत्ता सम्बन्धी नयाँ स्वतन्त्र अन्तर्राष्ट्रिय वैज्ञानिक प्यानलको संरचना महासभामा पेश गरेको जानकारी दिएका छन्।

“स्वतन्त्र अन्तर्राष्ट्रिय कृत्रिम बुद्धिमत्ता वैज्ञानिक प्यानल” नाम दिइएको यस निकायमा विश्वका विभिन्न क्षेत्र र पृष्ठभूमिका ४० जना ख्यातिप्राप्त विज्ञहरू समेटिएका छन्। गुटेरेसका अनुसार यो प्यानल पूर्ण रूपमा स्वतन्त्र, निष्पक्ष र वैज्ञानिक आधारमा सञ्चालन हुने पहिलो विश्वव्यापी निकाय हो, जसको उद्देश्य एआई सम्बन्धी ज्ञानको अन्तर घटाउनु र यसको वास्तविक प्रभावलाई अर्थतन्त्र तथा समाजमा कसरी परिरहेको छ भन्ने मूल्याङ्कन गर्नु हो।

पत्रकारहरूसँग कुरा गर्दै महासचिव गुटेरेसले भने, “आज हामी एउटा महत्वपूर्ण कदम चाल्दैछौँ, ताकि कृत्रिम बुद्धिमत्ता सम्पूर्ण मानवताको सेवामा रहोस्।” उनका अनुसार एआईबारे भरपर्दो, तथ्यमा आधारित र निष्पक्ष बुझाइ कहिल्यै यति आवश्यक भएको थिएन। यही सन्दर्भमा यो प्यानल विश्वसनीय सन्दर्भ बिन्दुका रूपमा काम गर्नेछ।

प्यानल गठनका लागि विश्वव्यापी रूपमा खुला आह्वान गरिएको थियो, जसमा २६ सयभन्दा बढी आवेदन प्राप्त भएका थिए। तीमध्ये विभिन्न विषय र विधामा गहिरो विशेषज्ञता भएका ४० जनाको अन्तिम सूची तयार गरिएको हो। सबै सदस्यहरू कुनै पनि सरकार, कम्पनी वा संस्थाको प्रतिनिधि नभई व्यक्तिगत क्षमतामा काम गर्नेछन्, जसले प्यानलको स्वतन्त्रता र विश्वसनीयता सुनिश्चित गर्ने महासचिवको भनाइ छ।

यस प्यानलको कार्यकाल नियुक्तिको मितिदेखि तीन वर्षको हुनेछ। यस अवधिमा प्यानलले एआईको प्रविधिगत, सामाजिक, आर्थिक र नैतिक प्रभावबारे अध्ययन, मूल्याङ्कन र सिफारिस प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

गुटेरेसले एआईलाई अवसर र चुनौती दुवैको रूपमा व्याख्या गर्दै भने, “एआईले हाम्रो संसार बदलिरहेको छ। प्रश्न यो हो, हामी मिलेर यो परिवर्तनलाई मार्गदर्शन गर्छौँ कि परिवर्तनले नै हामीलाई निर्देशित गर्छ?” वर्तमान विश्व राजनीतिक तनाव र प्रविधिगत प्रतिस्पर्धा बढिरहेको अवस्थामा साझा समझदारी र वैज्ञानिक सहकार्य अपरिहार्य भएको उल्लेख गर्दै उनले यो प्यानलले विज्ञान र एकताको आधारमा सहकार्यको व्यवहारिक आधार तयार गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे।

संयुक्त राष्ट्रसंघको यो पहललाई एआईको तीव्र विकासबीच मानव अधिकार, समावेशिता र वैश्विक सन्तुलन जोगाउने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button