नेकपा नेता पुनको खुला स्वीकारोक्ति : ‘२०६४ को विजय सदुपयोग गर्न सकेनौं’

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा नेकपा नेता वर्षमान पुनले सामाजिक रुपान्तरणका मुद्दादेखि संविधान संशोधनसम्मका विषयमा आफ्नो पार्टीले सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनले रचनात्मक रूपमा सरकारलाई सहयोग पुर्याउने बताए।
तर उनको सम्बोधनको सबैभन्दा चर्चित पक्ष रह्यो – २०६४ सालको माओवादीको विजयप्रति आत्मालोचना। उनले स्पष्ट शब्दमा स्वीकारे, ‘त्यो विजयलाई सदुपयोग गर्न जानेनौं, सकेनौं।’ उनले पछि गठन भएको नेकपा पार्टीले पनि झन्डै दुई तिहाइ मत ल्याए पनि त्यहाँ पनि कमजोरी रहेको उल्लेख गरे। यसलाई शिक्षा लिएर अघि बढ्न उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सुझाव समेत दिए।
पुनले संसदीय इतिहासको पाठ पनि सुनाए। २०७४ सालमा चुनावी तालमेल गरेका एमाले र माओवादी केन्द्रले २०७५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनाएको स्मरण गर्दै उनले भने, ‘झन्डै दुई तिहाइ बहुमत पायौं तर पछि पार्टी नै फुट्यो।’ उनले ठूलो बहुमत मात्र पर्याप्त नहुने, त्यसको सदुपयोग गर्न नजान्दा असफल हुनुपरेको स्वीकारोक्ति दिए।
नयाँ जनमतलाई स्वीकार्दै काम गर्ने वातावरण दिने र सचेत खबरदारी गर्दै अघि बढ्ने उनले बताए। उनले यस पटकको संसद्मा महिला सहभागिता बढेकामा खुसी व्यक्त गर्दै यसलाई सकारात्मक संकेतका रूपमा लिए।
पुनले माओवादी जनयुद्ध, मधेश आन्दोलन हुँदै जेन–जी आन्दोलनसम्मका उपलब्धिको जगमा नेपाल यहाँसम्म आइपुगेको बताए। उनको यो अभिव्यक्तिलाई पुरानो पार्टीले नयाँ जनादेशलाई स्वीकार गरेको तथा आफ्ना पुराना कमजोरीबाट शिक्षा लिने तयारी देखाएको रूपमा हेरिएको छ। यसले संसदीय राजनीतिमा परिपक्वता र आत्मसमीक्षाको नयाँ बहसको थालनी गरेको संकेत पनि दिन्छ।





