नक्कली चुनावी प्रतिबद्धतापत्र विवाद : वर्षमान पुनले आयोग र साइबर ब्युरोमा उजुरी दर्ता

काठमाडौँ। आफ्नो नाममा नक्कली चुनावी प्रतिबद्धतापत्र बनाएर सामाजिक सञ्जाल मार्फत भ्रामक प्रचार भइरहेको भन्दै नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले निर्वाचन आयोग र प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन्।
पुनले आफ्नो सचिवालय मार्फत दर्ता गरेको उजुरीमा उक्त कार्यमा संलग्न व्यक्ति वा समूहमाथि कानुनी कारबाहीको माग राखिएको छ। उनी गृहजिल्ला रोल्पाबाट प्रतिनिधि सभाको उम्मेदवार हुन्।
उजुरीमा उल्लेख छ कि सामाजिक सञ्जालमा फैलाइएका भ्रामक र चरित्र हत्या गर्ने किसिमका सामग्रीले विद्युतीय कारोबार ऐन ०६३ को दफा ४७ बमोजिम सार्वजनिक नैतिकता र शिष्टाचार विरुद्धको कसुर तथा निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको छ।
‘मतदातालाई भ्रमित तुल्याई स्वतन्त्र र निष्पक्ष निर्वाचन हुने वातावरणको हनन् गरेको छ,’ उजुरीमा भनिएको छ, ‘यसले निर्वाचनको स्वच्छतालाई असर पार्ने र समाजमा द्वेष फैलाउने काम गरेको हुनाले उक्त सामग्रीहरू तुरुन्त हटाइयोस् र संलग्न व्यक्ति तथा समूहको पहिचान गरी कानुनी कारबाही गरियोस्।’
पुनका अनुसार प्रतिस्पर्धी उम्मेदवारले मतदातामा भ्रम सिर्जना गर्ने र चरित्र हत्या गर्ने उद्देश्यले आफ्नो विषयमा नक्कली प्रतिबद्धतापत्र तयार गरी सामाजिक सञ्जालमा राखेको हो। उनले पार्टीको चुनावी घोषणापत्र लेखन अन्तिम चरणमा रहेको र आफ्नो तर्फबाट मौखिकबाहेक लिखित प्रतिबद्धतापत्र नबनाएको पनि स्पष्ट पारेका छन्।
उक्त नक्कली प्रतिबद्धतापत्रमा रोल्पा सदरमुकाम र सुलिचौरमा रेड लाइट एरिया तोक्ने, बडाचौरमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने, जिल्लामा विश्वविद्यालय र प्रत्येक वडामा क्याम्पस बनाउने, मेट्रो रेल र केबलकार सञ्चालन गर्ने जस्ता असम्बन्धित र अवास्तविक योजनाहरू उल्लेख गरिएको छ।
यो घटनाले चुनावी प्रचारमा भ्रामक सामग्री र चरित्र हत्या रोक्नुपर्ने आवश्यकतालाई पुनः उजागर गरेको छ।





