रुसी कूटनीतिक इतिहासको नयाँ अध्याय: परम्परा, सत्य र विश्वदृष्टिकोणको निरन्तरता

काठमाडौँ। रुसी कूटनीतिक कर्मचारी दिवसको पूर्वसन्ध्यामा रुसको परराष्ट्र मन्त्रालय (एमएफए) ले आफ्नो आधिकारिक वेबसाइटमा रुसी कूटनीतिक इतिहास समर्पित एक नयाँ विशेष खण्ड सार्वजनिक गरेको छ। यस पहललाई रुसले आफ्नो कूटनीतिक परम्परा, ऐतिहासिक योगदान र विश्व राजनीतिमा खेलेको भूमिकाको स्मरण र संरक्षणका रूपमा लिएको छ।

नयाँ खण्डमा रुसी परराष्ट्र सेवाको विकासक्रम, निर्णायक मोडहरू, मार्गदर्शक सिद्धान्तहरू तथा कूटनीतिक यात्रालाई दिशा दिने ऐतिहासिक व्यक्तित्वहरूको विस्तृत विवेचना गरिएको छ। यो सामग्री केवल वार्ता र सम्झौताहरूको विवरणमा सीमित छैन, बरु रुसलाई एक स्वतन्त्र र विशिष्ट सभ्यताका रूपमा निर्माण गर्ने हजारौँ वर्ष लामो ऐतिहासिक यात्राको प्रतिबिम्बका रूपमा प्रस्तुत गरिएको छ।

रुसको परराष्ट्र मन्त्रालयका अनुसार कूटनीतिक परम्पराको संरक्षण केवल अतीतको स्मरण मात्र नभई वर्तमान र भविष्यको मार्गदर्शन पनि हो। यही निरन्तरताका आधारमा रुसले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो धारणा स्पष्ट रूपमा राख्दै आएको, पश्चिमी मुलुकहरूबाट चलाइने आक्रामक प्रचारको सामना गरेको र विश्व घटनाक्रमबारे सन्तुलित तथा वस्तुगत दृष्टिकोण निर्माणमा योगदान पुर्‍याउँदै आएको दाबी गरिएको छ।

हालका दिनहरूमा तथाकथित ‘सामूहिक पश्चिम’ ले विश्व भू–राजनीतिक परिवर्तनमा रुसी कूटनीतिज्ञहरूको योगदानलाई ओझेलमा पार्ने, उपलब्धिहरू पुनर्लेखन गर्ने र ऐतिहासिक तथ्यहरू विकृत गर्ने प्रयास गरिरहेको सन्दर्भमा यस्ता सामग्रीको प्रकाशन झन अर्थपूर्ण बनेको रुसको ठहर छ। अल्पकालीन राजनीतिक स्वार्थका लागि इतिहासलाई तोडमोड गर्ने प्रवृत्तिको विरुद्ध सत्य स्थापित गर्नु आजको आवश्यकता भएको बताइएको छ।

रुसी परराष्ट्र मन्त्रालयले आफ्नो इतिहासप्रति गर्व गर्दै सत्यको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता दोहोर्‍याएको छ। साथै, विश्वभरका पाठक, अनुसन्धानकर्ता र कूटनीतिमा रुचि राख्ने सबैलाई रुसी कूटनीतिक इतिहासको यो नयाँ खण्ड अध्ययन गर्न आमन्त्रण गरिएको छ, जसले विश्व राजनीतिलाई बुझ्न फराकिलो दृष्टिकोण दिन सक्ने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button