झण्डाको आवरणभित्र हराउँदै गएको राष्ट्रप्रेम

काठमाडौं / नेपालको झण्डा केवल कपडाको टुक्रा होइन, यो इतिहास, बलिदान र राष्ट्रिय आत्माको प्रतीक हो। तर पछिल्ला वर्षहरूमा यही झण्डा ओढेर गरिएका केही गतिविधिहरूले राष्ट्रियता र राष्ट्रप्रेमको वास्तविक अर्थमाथि गम्भीर प्रश्न खडा गरिदिएका छन्। गायिका ज्योति मगरले आफ्नो सामाजिक सञ्जाल मार्फत व्यक्त गरेको अनुभूति पनि यही पीडादायी यथार्थतर्फ संकेत गर्छ।
झण्डा ओढेर राजनीति गर्ने, झण्डा ओढेरै देश छोड्ने, झण्डा ओढेर नागरिकता त्याग्ने र फेरि यही झण्डा ओढेर देशलाई नै गाली गर्ने प्रवृत्ति बढ्दै गएको उनले उल्लेख गरेकी छन्। कतिपयले झण्डा ओढेर नै “देश खत्तम भइसकेको” घोषणा गर्छन् भने केहीले देशलाई एकपटक विदेशी शक्तिको जिम्मा लगाइदिए भारतमा ब्रिटिशले गरेजस्तै विकास भइहाल्छ भन्ने सोच सार्वजनिक रूपमा व्यक्त गर्छन्। यी सबै गतिविधिले झण्डा र राष्ट्रप्रेमबीचको दूरी झनै गहिरो बनाइरहेको देखिन्छ।
सबैभन्दा पीडादायी अवस्था भने झण्डा ओढेर नै नेपाल जलाइएको दृश्य हो, भौतिक संरचना मात्र होइन, राष्ट्रिय एकता, सामाजिक सद्भाव र आत्मसम्मानमाथि प्रहार गरिएको अनुभूति। झण्डा ओढेर देश जलेको खुसीयालीमा ‘भिक्ट्री पोज’मा फोटो खिचिएको दृश्यले राष्ट्रिय चेतनालाई गहिरो चोट पुर्याएको ज्योति मगरको टिप्पणी छ।
आज समाजमा झण्डा ओढेका राष्ट्रवादीहरूको संख्या कम छैन, तर व्यवहारमा राष्ट्रप्रेम र जिम्मेवारी भने देखिन छाडेको अनुभूति बढ्दो छ। बाहिर राष्ट्रवादीको आवरण, भित्र स्वार्थ र खोक्रोपन, यही दोहोरो चरित्रले राष्ट्रलाई कमजोर बनाइरहेको उनी बताउँछिन्। यस्तो अवस्था टुलुटुलु हेर्नु मात्र आम नागरिकको दिनचर्या बन्दै गएको छ।
आन्दोलन र चुनावमा कसले जित्छ, कसले हार्छ भन्ने प्रश्नभन्दा गम्भीर विषय देशको भविष्य हो। यदि यही प्रवृत्ति जारी रह्यो भने व्यक्तिगत वा दलगत जित–हारभन्दा पर देश नै हार्ने निश्चित देखिन्छ। राष्ट्रप्रेम झण्डा ओढेर देखाउने अभिनय होइन, देशप्रति इमानदार सोच, जिम्मेवार व्यवहार र दीर्घकालीन प्रतिबद्धता हो भन्ने सन्देश गायिका ज्योति मगरले आफ्ना शब्दमार्फत समाजसमक्ष राखेकी छन्।
— गायिका ज्योति मगरको फेसबुक अभिव्यक्तिमा आधारित





