२० चैत्र २०८२, शुक्रबार

ट्रम्पद्वारा महान्यायाधिवक्ता बोन्डी बर्खास्त, निजी क्षेत्रमा नयाँ जिम्मेवारी दिने घोषणा

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डी पदबाट अलग हुने र उपमहान्यायाधिवक्ता टोड ब्लान्चेले कार्यवाहक महान्यायाधिवक्ताको भूमिका निर्वाह गर्ने घोषणा गरेका छन्।

राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मा लेखेका छन् : “पाम बोन्डी एक महान् अमेरिकी देशभक्त र वफादार मित्र हुन्, जसले विगत एक वर्ष मेरो महान्यायाधिवक्ताको रूपमा इमान्दारीपूर्वक सेवा गरिन्। उनी निजी क्षेत्रको एउटा अत्यावश्यक र महत्त्वपूर्ण नयाँ काममा संक्रमण हुँदैछिन्, जसको बारेमा निकट भविष्यमा घोषणा गरिनेछ।”

राष्ट्रपति ट्रम्पको यो वक्तव्य विभिन्न अमेरिकी सञ्चारमाध्यमले बोन्डी बर्खास्त भएको समाचार सार्वजनिक गरेको केही समयपछि आएको हो।

न्युयोर्क टाइम्सले सर्वप्रथम राष्ट्रपति ट्रम्पले बोन्डीप्रति न्याय विभागको नेतृत्व र जेफ्री एप्सटिन प्रकरणको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै उनलाई बर्खास्त गर्ने विषयमा छलफल गरेको जनाएको थियो। पत्रिकाका अनुसार ट्रम्पले बोन्डीलाई बर्खास्त गरेका हुन्।

सीएनएनका अनुसार, राष्ट्रपति ट्रम्पले बोन्डीलाई धेरै मोर्चामा असन्तुष्टि जनाएका थिए। विशेषगरी एप्सटिन प्रकरणको व्यवस्थापनमा उनी असन्तुष्ट थिए भने बोन्डीले उनका राजनीतिक विपक्षीहरूको पर्याप्त अनुसन्धान वा अभियोजन नगरेकोमा पनि उनी रुष्ट थिए।

बोन्डीको बहिर्गमन राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालको सुरुवातपछिको दोस्रो मन्त्रीस्तरीय बर्खास्ती हुने देखिन्छ। यसअघि मार्चमा ट्रम्पले गृह सुरक्षा सचिव क्रिस्टी नोयमलाई उनको नेतृत्वप्रति बढ्दो द्विदलीय आलोचनाबीच पदमुक्त गरेका थिए।

बोन्डीको बर्खास्तीले ट्रम्प प्रशासनभित्रको आन्तरिक तनाव र न्याय विभागको दिशाबारे राष्ट्रपतिको बढ्दो असन्तुष्टिलाई उजागर गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button