विदेशी आगन्तुकका लागि चीनका डिजिटल सेवा थप सहज बनाउने नयाँ निर्देशिका जारी

बेइजिङ। चीनले विदेशी नागरिक तथा मुख्यभूमि बाहिरका व्यक्तिहरूका लागि डिजिटल सेवा प्रयोगलाई अझ सहज र मैत्रीपूर्ण बनाउने उद्देश्यसहित नयाँ निर्देशिका जारी गरेको छ। डिजिटल सेवा र डिजिटल भुक्तानी प्रणालीको पहुँच र प्रयोग सुधार गर्ने विभिन्न उपायहरू समेटिएको यो निर्देशिका चीनको उच्चस्तरीय खुलापनलाई थप प्रवर्द्धन गर्ने दिशामा केन्द्रित रहेको जनाइएको छ।
साइबरस्पेस एडमिनिस्ट्रेसन अफ चाइना (सीएसी), संस्कृति तथा पर्यटन मन्त्रालय र जन बैंक अफ चाइनासहित ११ वटा निकाय र विभागको संयुक्त पहलमा तयार गरिएको उक्त निर्देशिका बिहीबार सीएसीको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिएको हो। निर्देशिकामा विदेशबाट आउने व्यक्तिहरूले चीनमा डिजिटल सेवा प्रयोग गर्दा भोग्दै आएका अवरोध हटाई डिजिटल वातावरणलाई अझ अन्तर्राष्ट्रिय र प्रयोगमैत्री बनाउने लक्ष्य राखिएको छ।
निर्देशिकामा कुल १४ वटा मुख्य उपायहरू उल्लेख गरिएका छन्। यसअन्तर्गत विदेशी नागरिकका लागि दूरसञ्चार सेवामा सहज पहुँच सुनिश्चित गर्ने, मुख्यभूमि चीनभित्र विदेशी ई–वालेट प्रयोगलाई प्रभावकारी रूपमा समर्थन गर्दै डिजिटल भुक्तानीलाई सरल बनाउने व्यवस्था समावेश छन्। साथै, विभिन्न डिजिटल सेवाहरूलाई बहुभाषिक बनाउँदै अनुवाद सुविधा वा बहुभाषिक संस्करण उपलब्ध गराउन सम्बन्धित सेवा प्रदायक प्लेटफर्महरूलाई प्रोत्साहन गरिएको छ।
पर्यटन, किनमेल र खानपान अनुभवलाई अझ सहज र सन्तोषजनक बनाउन डिजिटल सेवाको गुणस्तर सुधार गर्नेमा पनि जोड दिइएको छ। चीनमा विदेशीहरूले व्यापक रूपमा प्रयोग गर्ने मोबाइल एप्समार्फत एकीकृत डिजिटल सेवा जानकारी उपलब्ध गराउने प्रयास गरिने निर्देशिकामा उल्लेख छ।
यसका अतिरिक्त स्वास्थ्य, शिक्षा, लगानी तथा उद्यमशीलता र सरकारी सेवासम्बन्धी डिजिटल सार्वजनिक सेवाहरूलाई पनि विदेशी नागरिकका लागि थप उन्नत र पहुँचयोग्य बनाइने भएको छ। साथै, साइबर सुरक्षा, डेटा सुरक्षा र व्यक्तिगत सूचनाको गोपनीयता संरक्षणलाई उच्च प्राथमिकतामा राख्नुपर्ने आवश्यकता पनि निर्देशिकाले स्पष्ट रूपमा औंल्याएको छ।
नयाँ निर्देशिकासँगै चीनमा विदेशी नागरिकको बसाइ, यात्रा र व्यवसायिक गतिविधिमा डिजिटल सेवाले थप सहजता ल्याउने अपेक्षा गरिएको छ।





