२० चैत्र २०८२, शुक्रबार

गृहमन्त्री सुधनको निजी गाडी सुधनको नाममा छैन : एउटा ‘रातो’, अर्को ‘सिल्भर’, दुवै अर्कैको नाममा !

काठमाडौं । सरकारी गाडीको सुविधा नलिने अनि आफ्नै गाडी चढ्ने भन्दै निजी कार चलाउँदै आएका गृहमन्त्री सुदन गुरुङले बिहीबारबाट प्रयोग गर्न थालेको नयाँ ओमोडा कार पनि उनको नाममा नभएको खुलेको छ। यसअघि उनले प्रयोग गर्दै आएको रातो रंगको कार पनि उनको नाममा थिएन। प्रमाणसहितको समाचार सार्वजनिक भएपछि उनले भने गाडी बदलेको देखिएको छ।

उकेराले यातायात व्यवस्था कार्यालयको सवारी दर्ता पुस्तिका हेर्दा गृहमन्त्री गुरुङले बिहीबार प्रयोग गरेको बागमती प्रदेश–०१ ०३२ च २५५७ नम्बरको ओमोडा गाडी राष्ट्रिय वाणिज्य बैंकबाट दीपक खनालले निकालेको देखिन्छ। सो गाडी २०८२ वैशाख १७ मा नेपाल भित्रिएको र २०८२ असार ३१ मा खनालले बैंकबाट ऋण लिएर किनेको देखिन्छ। सो गाडी २०८२ वैशाख २६ मा दर्ता भएको र यसको नवीकरणको म्याद २०८३ वैशाख २५ सम्म रहेको छ।

गृहमन्त्रीका लागि सरकारी सुविधामा मन्त्रालयमा ‘बा १ झ ६४३१’ नम्बरको ल्यान्डक्रुजर राखिए पनि उनले मन्त्रीको रूपमा पाउने सरकारी सुविधा प्रयोग नगरी आफ्नै सवारीसाधन प्रयोग गर्ने भन्दै निजी कारको प्रयोग गर्दै आएका थिए। प्रारम्भमा उनी रातो रंगको निजी कार (बागमती प्रदेश–०१, ०३२ च ४४७७) मा देखिन्थे। उनी सांसद निर्वाचित भएदेखि नै सो गाडीको प्रयोग गर्दै आएका थिए।

तर उकेराले सो गाडीको स्वामित्वबारे सोधखोज गर्दा उनको नाममा देखिएन। सवारी दर्तामा सो गाडी प्रभु बैंक लिमिटेड र लगुम प्रिमियम अपार्टमेन्ट प्रालिको नाममा रहेको खुल्यो। त्यसमा राखिएको सम्पर्क नम्बर भने गृहमन्त्री सुदनकै थियो। अर्थात् प्रभु बैंकबाट लगुमले सवारी ऋणमा लिएको देखियो, तर सम्पर्क नम्बर गुरुङको।

यसबारे बुझ्न उकेराले उनीसँग बुधवार पटक–पटक सम्पर्क राख्न खोज्दा उनी सम्पर्कमै आएनन्। उनीसँग सम्पर्क गर्न खोजेको कारणसमेत खुलाएर पठाइएको एसएमएसमा समेत कुनै प्रतिक्रिया जनाएनन्।

उकेराले प्रमाणसहित सो समाचार प्रकाशित गरेपछि भने उनी रातो नभई सिल्भर कलरको ओमोडा इलेक्ट्रिक गाडीमा देखिन थाले। उनी बिहीबार पशुपतिनाथ दर्शन गर्न जाँदा बागमती प्रदेश–०१ ०३२ च २५५७ नम्बरको ओमोडा कारमा चढेर गएका थिए। तर सवारी दर्ता पुस्तिकामा त्यो कार पनि दीपक खनालको नाममा देखियो। खनालको नाम तल राखिएको मोबाइल नम्बरमा सम्पर्क गर्दा फोन उठाउने व्यक्तिले आफू दीपक नभएको दाबी गरेर फोन काटिदिए।

मन्त्री नियुक्त भएपछि सरकारले सुरक्षाकर्मी, चालक र गाडी उपलब्ध गराउँछ। सुदनका लागि पनि यसअघिका गृहमन्त्रीहरूले प्रयोग गर्दै आएको सरकारी ल्यान्डक्रुजर तयारी अवस्थामा राखिएको छ। तर उनी सरकारी सवारीसाधन प्रयोग नगरी निजी सवारीसाधन प्रयोग गरिरहेका छन्। सांसदमा निर्वाचित भए लगत्तै उनले संसद् भए वापत आउने सेवा र सुविधा नलिने घोषणा गरेका थिए। त्यसपछि उनी बालेन्द्र शाह नेतृत्वको सरकारमा गृहमन्त्री नियुक्त भए।

सांसदको शपथ खान होस् वा मन्त्रीको शपथ खान, उनले निजी सवारीसाधनै प्रयोग गरे। अधिकांश मन्त्रीले शपथ लिएपछि सरकारले व्यवस्था गरेको गाडीमा चढेर गए, तर उनी भने उही रातो कारमै फर्किए। मन्त्रीको कार्यभार सुरु गर्नेदेखि प्रहरी कार्यालयहरू अनुगमनसम्म उनले निजी कारै प्रयोग गरे।

जेनजी आन्दोलन सरकारमा रहेकाहरूले तोकिएको सुविधा प्रयोग गरे भन्ने आरोपबाट सुरु भएको थियो। त्यही आन्दोलनमा पानी बाँड्ने स्वयंसेवक हुँदै पछि उनी जेनजी आन्दोलनको अगुवा बने। त्यसपछि रास्वपाबाट गोर्खाबाट सांसद निर्वाचित भए। पदीय जिम्मेवारी अनुसारको सुविधा नलिने घोषणा गरेपछि उनले सरकारी सुविधा अस्वीकार गर्दै प्रयोग गरिरहेको सवारीसाधनको स्वामित्वबारे उकेराले खोजबीन गरेको थियो।

खोजबीनमा बिहीबार उनले चढ्ने रातो कार उनको स्वामित्वको देखिएन। प्रमाणसहितको समाचार सार्वजनिक भएसँगै उनले बदलेको अर्को सिल्भर कार पनि उनको स्वामित्वमा देखिएन। लगुम अपार्टमेन्टको सञ्चालन र व्यवस्थापनमा सुनिल कुमार श्रेष्ठको मुख्य भूमिका रहेको देखिएको छ। प्रश्न उठेको छ– गृहमन्त्री जस्तो संवेदनशील पदमा रहेको व्यक्तिले अरूको नाममा दर्ता भएको गाडी प्रयोग गर्नु कति उचित हो ? र, सरकारी सुविधा अस्वीकार गरेको नाममा अनियमितता त छैन ? यी प्रश्नको जवाफ गृहमन्त्री गुरुङले आफैं दिनुपर्ने देखिन्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button