खाडी युद्धको गलत हल्ला फैलाउने ११ नेपाली पक्राउ, ३८ शव ल्याउने तयारी

काठमाडौं । पश्चिम एसियामा जारी युद्धबारे सामाजिक सञ्जालमा अफवाह र फेक न्यूज फैलाउने गतिविधिमा संलग्न ११ जना नेपालीलाई युएई, कतार, साउदी अरब र ओमानको प्रशासनले पक्राउ गरेको छ। परराष्ट्र मन्त्रालयले पटक–पटक यस्ता गतिविधिमा नसंलग्न हुन आग्रह गर्दै आएको थियो तर केही व्यक्तिले बेवास्ता गरेकोमा मन्त्रालयले चिन्ता व्यक्त गरेको छ। आज आयोजित प्रेस ब्रिफिङमा मन्त्रालयले यो जानकारी सार्वजनिक गरेको हो।
परराष्ट्र मन्त्रालयले युद्ध प्रभावित क्षेत्रमा रहेका नेपालीको सुरक्षालाई प्राथमिकता दिँदै निगरानी र उद्धार कार्य तीव्र बनाएको जनाएको छ। हालसम्म अधिकांश नेपाली सुरक्षित रहेको, केही सामान्य घाइते उपचारपछि घर फर्किएको र ३८ नेपालीको शव नेपाल ल्याउने प्रक्रिया जारी रहेको मन्त्रालयले जानकारी दिएको छ। युएईमा एक नेपालीको निधन भएको र अन्य विभिन्न कारणले मृत्यु भएका ३८ जनाको शव नेपाल ल्याउने तयारी भइरहेको छ। उद्धार तथा आवागमन सहज बनाउन नेपाल वायुसेवा निगमले विशेष उडान सञ्चालन गर्ने निर्णय गरेको छ। काठमाडौं–दुबई–काठमाडौं तथा काठमाडौं–दमाम–काठमाडौं उडानमार्फत नेपालीलाई स्वदेश फर्काउने र शव व्यवस्थापन गरिने मन्त्रालयको भनाइ छ।
परराष्ट्र मन्त्रालयले पश्चिम एसियामा विकसित पछिल्ला घटनाक्रम र त्यहाँ रहेका नेपालीको सुरक्षा तथा हितलाई केन्द्रमा राख्दै काम गरिरहेको जनाएको छ। द्वन्द्व प्रभावित क्षेत्रमा रहेका नेपालीको अवस्थाबारे अद्यावधिक जानकारी दिँदै सुरक्षा व्यवस्थालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पश्चिम एसियामा जारी तनाव दोस्रो महिनामा प्रवेश गरेको छ भने ड्रोन तथा मिसाइल आक्रमणहरू अझै जारी छन्। यद्यपि, आक्रमणको तीव्रतामा केही कमी आएको देखिएको मन्त्रालयले दाबी गरेको छ। सरकारले उक्त क्षेत्रको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको पनि जनाएको छ।
सरकारले सम्भावित बहुआयामिक प्रभावहरूको मूल्यांकन तथा व्यवस्थापनका लागि उच्चस्तरीय अन्तर-मन्त्रालयीय कार्यदल गठन गरेको छ। उक्त कार्यदलले अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन उपायहरूसहित प्रतिवेदन तयार पार्ने भएको छ। मन्त्रालयले २४ सैं घण्टा सञ्चालनमा रहेको इमरजेन्सी कन्ट्रोल रूममार्फत हालसम्म सयौँ सम्पर्क भएको जनाएको छ। साथै, खाडीका विभिन्न देशस्थित नेपाली नियोगहरूमा हटलाइन र र्यापिड रेस्पोन्स टिम सक्रिय रूपमा परिचालन गरिएको छ।
अन्य समसामयिक विषयमा परराष्ट्रमन्त्रीले पोर्चुगलका समकक्षीसँग टेलिफोन संवाद गरेको, राहदानी प्रणाली सुधार प्रक्रिया अघि बढेको तथा दक्षिणपूर्वी एसियामा अवैध अनलाइन स्क्यामिङमा परेका नेपालीको उद्धार जारी रहेको जानकारी दिइयो। मन्त्रालयका अनुसार हालसम्म उक्त क्षेत्रबाट ५३७ नेपालीको उद्धार गरिएको पनि जानकारी दिइएको छ। पश्चिम एसियाको जारी युद्धबाट नेपाली नागरिकलाई सुरक्षित बनाउन यी सबै प्रयास भइरहेको मन्त्रालयको भनाइ छ।





