हिमालयन रि–इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्सको शेयर कारोबारमा अर्बौंको अनियमितता, छानबिन समितिले कारबाही सिफारिस गर्यो

काठमाडौं – बीमा प्राधिकरणले गठन गरेको छानबिन समितिले हिमालयन रिइन्स्योरेन्स लिमिटेड र नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले भृकुटी स्टक ब्रोकिङ प्रालिमार्फत गरेको शेयर कारोबारमा ठूलो अनियमितता र आर्थिक दुरुपयोग भएको निष्कर्ष निकालेको छ। समितिले दुवै बीमकको सञ्चालक समिति, लगानी उपसमितिका सदस्य, कार्यकारी प्रमुख तथा उच्च व्यवस्थापनमाथि बीमा ऐनअनुसार कारबाही गर्न सिफारिस गरेको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रपछि प्राधिकरणले उपनिर्देशक पदमप्रसाद सोडारीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिले तीन दिने स्थलगत निरीक्षणपछि प्रतिवेदन बुझाएको हो।
प्रतिवेदनअनुसार हिमालयन रिइन्स्योरेन्सले भृकुटी स्टक ब्रोकिङमार्फत गरेको शेयर कारोबारमा कम्पनीबाट रू. २ अर्ब ७३ करोड ३३ लाख १५ हजार १ सय ६० रुपैयाँ ३ पैसा प्राप्त गर्न बाँकी रहेको छ। अघिल्ला वर्षको तुलनामा चालु आर्थिक वर्षमा बाँकी रकम उल्लेख्य रूपमा बढेको पाइएको छ। रकम असुलीका लागि बीमकले पटक–पटक मौखिक अनुरोध मात्र गरेको तर कुनै पत्राचार वा कानूनी कारबाही नगरेको समितिले उल्लेख गरेको छ।
बीमकले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको १० लाख २० हजार ५ सय ३० कित्ता साधारण शेयर खरिद गरेको छ, जुन सो कम्पनीको कुल साधारण शेयरको ४५.३५ प्रतिशत रहेको छ। उल्लेखनीय कुरा, शेयर खरिद गरिएका बीमक र हिमालयन रिइन्स्योरेन्सका केही प्रमुख शेयरधनी एउटै व्यक्ति तथा संस्था रहेको समितिले जनाएको छ।
प्राधिकरणको लगानी निर्देशन २०८२ अनुसार पुनर्वीमा कम्पनीले सूचीकृत पब्लिक लिमिटेड कम्पनीको शेयरमा कुल लगानीको बढीमा १५ प्रतिशत मात्र लगानी गर्न पाउँछ। तर हिमालयन रिइन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ को मसान्तमा नै २५.५९ प्रतिशत लगानी गरिसकेको थियो। त्यसपछि पनि थप शेयर खरिदका लागि भृकुटीलाई पटक–पटक रकम भुक्तानी गरेको पाइएको छ।
नेपाल माइक्रो इन्स्योरेन्सले भृकुटी स्टक ब्रोकिङमार्फत गरेको शेयर कारोबारमा बीमकले प्राप्त गर्नुपर्ने रू. १६ करोड १७ लाख ५२ हजार ८ सय ७३ रुपैयाँ ८८ पैसा अझै प्राप्त नभएको समितिले उल्लेख गरेको छ। उक्त रकम असुलीका लागि कुनै लिखित ताकेता वा कानूनी कारबाही नगरिएको पाइएको छ।
लघु निर्जीवन बीमकको लगानी निर्देशन २०७९ अनुसार सूचीकृत पब्लिक लिमिटेडको साधारण शेयरमा कुल लगानीको बढीमा १० प्रतिशत मात्र लगानी गर्न पाउँछ। तर नेपाल माइक्रो इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ को मसान्तमा नेपाल पुनर्वीमा कम्पनीको शेयरमा मात्रै कुल लगानीको ३१.८६ प्रतिशत रकम लगानी गरेको पाइएको छ। यसका लागि प्राधिकरणबाट कुनै विशेष स्वीकृति लिइएको थिएन।
साथै, बीमकले हिमालयन लाइफ लार्ज क्याप फण्डमा रू. १ करोड १३ लाख लगानी गरेको पनि प्रतिवेदनमा उल्लेख छ।
छानबिन समितिले दुवै बीमकविरुद्ध निम्न कारबाही सिफारिस गरेको छ :
· हिमालयन रिइन्स्योरेन्सका जिम्मेवार पदाधिकारी (सञ्चालक समिति, लगानी उपसमितिका सदस्य, कार्यकारी प्रमुख तथा उच्च व्यवस्थापन) विरुद्ध बीमा ऐन २०७९ को दफा १३४ बमोजिम नियमनको कारबाही गर्नुपर्ने। साथै, रकम दुरुपयोगको सम्भावना देखिएकाले दफा १४६ बमोजिम अनुसन्धानका लागि पठाउन उपयुक्त हुने।
· लगानी निर्देशनको सीमा उल्लंघन गरेको भन्दै बीमा ऐनको दफा १३८ (४) बमोजिम जरिवाना गर्नुपर्ने।
· नेपाल माइक्रो इन्स्योरेन्सका जिम्मेवार पदाधिकारी विरुद्ध पनि सोही कारबाही र उक्त रकम दुरुपयोगको सम्भावना देखिएकाले अनुसन्धान गर्नुपर्ने।
· भृकुटी स्टक ब्रोकिङ प्रा.लि. को पनि रकम दुरुपयोगमा संलग्नता देखिएकाले सम्बन्धित नियमनकारी निकायबाट छानबिन गर्नुपर्ने।
प्रतिवेदनले स्पष्ट पारेको छ कि दुवै बीमकले ऐन र निर्देशनको गम्भीर उल्लंघन गर्दै लगानीको सीमा नाघेका छन् भने करोडौं रुपैयाँ असुली नगरी बीमकको हितविपरीत काम गरेका छन्। प्राधिकरणले अब यस प्रतिवेदनमाथि निर्णय गरी आवश्यक कारबाही अघि बढाउने अपेक्षा गरिएको छ।





