२० चैत्र २०८२, शुक्रबार

रुसी चलचित्र हाम्रो सत्य हुन् : नेपालमा रुसी फिल्म डेजको भव्य उद्घाटन

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (एनआइएफएफ) को अवसरमा रुसी फिल्म डेजको उद्घाटन समारोहमा नेपालका लागि रुसी चार्ज दि अफेयर्स रिन्चेन राक्सायेभले चलचित्रलाई ‘सत्य’ र ‘परम्परागत मूल्य’ को संवाहकको रूपमा व्याख्या गरेका छन्। रुसी हाउस, काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले रुसी सिनेमा र कूटनीति दुवैमा इमानदारी र सिर्जनशीलताको भावना रहेको बताए।

राक्सायेभले यस वर्ष रुस–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वार्षिकोत्सव रहेको स्मरण गर्दै यस्तो महत्वपूर्ण अवसरमा महोत्सवको आयोजनाले विशेष महत्व राख्ने बताए। ‘नेपालमा दुई महिना मात्रै भएको छु, तर सिनेमाको क्षेत्रमा हाम्रो सम्बन्ध कति नजिक छ भन्ने थाहै थिएन,’ उनले भने। राक्सायेभले पहिलो नेपाली रंगीन चलचित्र ‘कुमारी’ की प्रसिद्ध अभिनेत्री चैत्य देवी रुसको प्रतिष्ठित गेरासिमोभ सिनेमेटोग्राफी संस्थान (भीजीआइके) मा अध्ययन गरेको विषय सुनाए।

रुसी हाउस एनआइएफएफको एक मुख्य स्थल रहेको र यहाँ रुसी चलचित्र र निर्णायकहरूको उपस्थिति रहेकोमा आफूहरू गौरवान्वित रहेको उनले बताए। ‘रुसी फिल्म डेज र नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रस्तुत रुसी चलचित्रहरू केवल कला र मनोरञ्जन मात्र होइनन्, ती हाम्रो सत्य हुन्,’ राक्सायेभले भने, ‘हामी ती चलचित्रहरू देखाउनेछौं जसले आज हाम्रो देशको जनताको सांस्कृतिक कोडलाई मूर्त रूप दिन्छन्।’

उनले विश्व परिवर्तन भइरहेको र दया, प्रेम, परिवार र देशभक्ति जस्ता अवधारणाहरू धमिलो हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै परम्परागत मूल्यहरू संरक्षण गर्ने र युवा पुस्तालाई हस्तान्तरण गर्ने विषय अत्यन्तै जरुरी भएको बताए। ‘परम्परागत मूल्यहरू नै आधार हुन्, जसमा हाम्रो देश रुस, हाम्रो संस्कृति र हाम्रो पहिचान टिकेको छ,’ उनले भने।

उनले विश्व नयाँ प्रविधिको युगमा प्रवेश गरेको र कृत्रिम बुद्धिमत्ताको तीव्र विकासको यस अवस्थामा नैतिक मार्गदर्शन संरक्षण गर्न विशेष प्रयास आवश्यक रहेको धारणा राखे। ‘हाम्रो देशले लगातार यस्तो नीति अघि बढाइरहेको छ जसले सिनेमाले उच्च आदर्शहरू बोक्ने सुनिश्चित गर्दछ, तिनलाई ध्वस्त पार्ने होइन। यो नै अन्तर्राष्ट्रिय संवादको आधार हुनुपर्छ,’ राक्सायेभले भने।

रुसी चार्ज दि अफेयर्सले सिनेमाले स्क्रिनमा ती मूल्यहरूलाई निरन्तर पुष्टि गर्नुपर्छ भन्ने धारणा राखे, जसले मानव आत्माका उत्कृष्ट गुणहरू – दया, न्याय, देशभक्ति र नागरिक कर्तव्यको विकास गर्दछ। उनले ऐतिहासिक सत्यको रक्षा गर्नुपर्ने र यसैकारण महान् देशभक्तिपूर्ण युद्ध (दोस्रो विश्वयुद्ध) का घटनाहरू, पहिलो मानव अन्तरिक्ष उडान, वैज्ञानिक, कवि र सामान्य मानिसहरूका बारेमा पटक–पटक बताउनुपर्ने औंल्याए। ‘हाम्रो राष्ट्रिय गौरवको मुख्य विषय हाम्रो जनता हुन्,’ उनले भने।

राक्सायेभले विश्वास व्यक्त गर्दै भने, ‘हाम्रो मूल्यहरू यहाँ यस हलमा बसेका तपाईंहरूको नजिक छन् भन्ने मलाई लाग्छ। रुसका धेरै समान विचारधारा र समर्थकहरू विश्वभर छन्। रुसको स्थिति सबैलाई थाहै छ। हामी देश र जनताको अद्वितीय पहिचान, उनीहरूको रीतिरिवाज र संस्कृतिको सम्मानको पक्षमा छौं।’ उनले सबैलाई रुसी चलचित्रको आनन्ददायक प्रदर्शनको शुभकामना दिए। यस कार्यक्रमले नेपाल–रुस सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button