१२ बैशाख २०८३, शनिबार

वामदेव गौतमको खुल्लापत्र बालेनलाई, भने– ‘७४ वर्षे अस्वस्थ ओलीलाई यो सरासर उचित होइन, रिहा गर्नुहोस्’

काठमाडौं । नेकपाका नेता तथा पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमले प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गर्दै एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउ कानुनविपरीत र स्वास्थ्यस्थितिको कारणले पनि अनुचित रहेको भन्दै तत्काल रिहाईको माग गरेका छन्। उनले प्रधानमन्त्रीको नाममा खुल्लापत्र जारी गर्दै यस्तो धारणा सार्वजनिक गरेका हुन्।

खुल्लापत्रमा गौतमले पहिले प्रधानमन्त्री बालेन्द्र शाहलाई निर्वाचित भएकोमा बधाई दिँदै केही ध्यानाकर्षण र सुझाव दिने प्रयास गरेको उल्लेख गरेका छन्। उनले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि पार्टीले एकल बहुमत नल्याएको र बाध्यात्मक अवस्थामा मिलिजुली सरकार सञ्चालन गर्नुपरेको स्मरण गराए।

गौतमले भदौ २३ र २४ को जेन–जी आन्दोलन तथा दमनको सन्दर्भ उल्लेख गर्दै भनेका छन्, ‘भदौ २३ को घटनामा त्यसै दिन १९ जना आन्दोलनकारीको मृत्यु भयो। यो अत्यन्त दुखद र पीडादायी घटना बनिरहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन अनुरोध गर्ने एकजना म पनि थिएँ। उहाँले राजीनामा दिनुभयो।’ त्यसपछि प्रतिनिधिसभा विघटन र सुशीला कार्की प्रधानमन्त्री नियुक्तिको अवस्था आएको उनले स्मरण गराए। फागुन २१ मा निर्वाचन भएको र यी सबै घटनामा राष्ट्रपतिले सकारात्मक भूमिका निर्वाह गरेको पनि गौतमले उल्लेख गरेका छन्।

गौतमले भनेका छन्, ‘आजको अवस्थासम्म शान्तिपूर्ण रूपमा सम्पन्न भएका राज्यका क्रियाकलापहरूमा प्रकारान्तरले केपी ओलीको पनि योगदान छ।’ उनले प्रश्न गरेका छन्, ‘७४ वर्षको वृद्ध अवस्थामा पुगेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई किन अपमानित हुने गरी हिरासतमा राख्नुहुन्छ? उहाँलाई थुन्नका लागि जे–जे तथ्य जम्मा गरिएको छ, ती सबै अदालतबाट प्रमाणित भएपछि थुनेर कारबाही गर्दा हुने थिएन?’

गौतमले हाम्रो कानुनी व्यवस्था अनुसार कुनै पनि घटनाको छानबिन प्रतिवेदन सरकारसमक्ष पेश भएपछि सम्बन्धित निकायले अध्ययन र अनुसन्धान गरी सोही अनुसार मात्र कारबाही अगाडि बढ्ने व्यवस्था रहेको तर्क गरेका छन्। उनले भनेका छन्, ‘हाम्रो संविधानबमोजिम कसैलाई मृत्युदण्ड दिइँदैन। तर, संसारका अन्य राष्ट्रमा मृत्युदण्ड दिने व्यक्तिलाई पनि अन्तिम इच्छा सोधिन्छ। केपी शर्मा ओलीका हकमा आकर्षित गरिएका कसुरलाई घटना, प्रमाण र कानुनले के भन्छ भन्ने कुराको परीक्षण पहिला हुनुपर्ने थियो। त्यसो नगरी रातारात घर घेरेर एकाबिहानै पक्राउ गर्ने शैली गलत थियो।’

उनले प्रधानमन्त्री शाहलाई गल्ती सच्याउन अनुरोध गर्दै एउटा वृद्ध, शारीरिक रूपमा अस्वस्थ राजनीतिक व्यक्तिलाई यो तहको सतासतमा पार्नु उचित नहुने धारणा राखेका छन्। गौतमले अन्त्यमा प्रधानमन्त्रीको सफल र प्रभावकारी कार्यकालको शुभकामना व्यक्त गरेका छन्। यो खुल्लापत्र प्रधानमन्त्री कार्यालय र सार्वजनिक मञ्चहरूमा चर्चाको विषय बनेको छ। वरिष्ठ नेता गौतमको यो अभिव्यक्तिले ओली पक्राउ प्रकरणमा नयाँ राजनीतिक बहस सुरु गरेको छ।

सम्मननीय प्रधानमन्त्रीका नाममा खुल्लापत्र:

सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यू !

प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित हुनुभएको र देशको कार्यकारी प्रमुखका रूपमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएकोमा तपाईंलाई धेरै धेरै बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

यस सन्दर्भमा तपाईंलाई केही ध्यानाकर्षण तथा सुझाव दिने प्रयत्न गरेको छु ।

२०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि पार्टीले एकल बहुमत हासिल गर्न सकेनन् । बाध्यात्मक अवस्थामा मिलिजुली सरकार सञ्चालन गर्नुपर्ने अवस्था आयो।

यस वर्षको भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलन र दमन तथा राष्ट्रिय विध्वंशको अवस्थामा नेपाली कांग्रेस र नेकपा (एमाले) को मिलीजुली सरकार थियो र प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो ।

भाद्र २३ को घटनामा त्यसै दिन १९ जना आन्दोलनकारीको मृत्यू भयो । त्यसपछि अरु धेरै व्यक्तिले घाइते अवस्थामा अस्पतालमै मृत्युवरण गरे । यो अत्यन्त दुखद र पीडादायी घटना बनिरहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा दिनु राम्रो हुन्छ भनेर अनुरोध गर्ने एकजना म पनि थिएँ । उहाँले राजीनामा दिनुभयो । त्यसपछि प्रतिनिधिसभा भंग गर्ने र सुशीला कार्कीलाई प्रधानमन्त्री मनोनयन गर्ने अवस्था भयो ।

त्यसपछि फागुन २१ गतेको निर्वाचन घोषणा भयो । यी सबै घटनामा सम्माननीय राष्ट्रपतिले पनि अत्यन्त सकारात्मक रुपमा भूमिका निर्वाह गर्नुभयो ।

आज तपाई नेपालको ४३ औं प्रधानमन्त्री बन्नु भएको छ । आजको अवस्थासम्म शान्तिपूर्ण रुपमा सम्पन्न भएका राज्यका क्रियाकलापहरुमा प्रकारान्तरले केपी ओलीजीको पनि योगदान छ ।

प्रधानमन्त्रीज्यू,

म प्रश्न गर्न चाहन्छु कि, ७४ वर्षको बृद्ध अवस्थामा पुगेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीजीलाई किन अपमानित हुने गरी हिरासतमा राख्नुहुन्छ ? उहाँलाई थुन्नका निम्ति जे-जे तथ्य जम्मा गरिएको छ, ती सबै अदालतबाट प्रमाणित भएपछि थुनेर कारबाही गर्नु भए हुन्न र ? हाम्रो कानुनी व्यवस्था एवं विगतका अभ्यास अनुसार कुनै पनि घटनाका छानवीन प्रतिवेदन सरकार समक्ष पेश भएपछि सम्बन्धित निकायले अध्ययन र अनुसन्धान गरेपछि, त्यस्तो अनुसन्धानको निष्कर्ष अनुसार मात्र कारवाही प्रक्रिया अगाडि बढ्ने हो ।

प्रधानमन्त्री ज्यू !

हाम्रो संविधानबमोजिम कसैलाई मृत्यूदण्ड दिइन्न । तर, संसारका अन्य राष्ट्रमा मृत्यूदण्ड दिने व्यक्तिलाई पनि अन्तिम इच्छा सोधिन्छ । केपी शर्मा ओलीका हकमा आकर्षित गरिएका वा गर्न खोजिएका कसुरलाई घटना, प्रमाण र कानुनले के भन्छ भन्ने कुराको परीक्षण पहिला हुनुपर्ने थियोे । त्यसो नगरी रातारात घर घेरेर, एकाविहानै पकाउ गर्ने शैली गलत थियो । म अनुरोध गर्दछु, ती गल्ती सच्याउनुहोला । एउटा वृद्ध, शारीरिक रुपमा पनि अस्वस्थ्य राजनीतिक व्यक्तिलाई यो तहको सकसमा पार्नु उचित छैन ।

अन्त्यमा यहाँको सफल र प्रभावकारी कार्यकालका निम्ति फेरि पनि शुभकामना व्यक्त गर्दछु ।

हार्दिक अभिवादन सहित,

वामदेव गौतम

– पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री

– केन्द्रीय सदस्य, नेपाली कम्युनिष्ट पार्टी

२०८२/१२/२१

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button