१२ बैशाख २०८३, शनिबार

कठपुतली सरकारबाट युद्धभूमि नेपाल : मोहनविक्रम सिंहको गम्भीर चेतावनी

काठमाडौं – नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले हालै सम्पन्न निर्वाचन र त्यसपछि बनेको सरकार नेपालको आन्तरिक राजनीतिक आवश्यकताको उपज नभई अमेरिकी रणनीतिको प्रत्यक्ष उपज भएको गम्भीर दाबी गरेका छन्। उनले अहिलेको निर्वाचनमार्फत नेपालमा अमेरिकी निर्देशनमा मात्र चल्ने ‘कठपुतली सरकार’ स्थापना गरिएको आरोप लगाउँदै यसले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतामाथि ठूलो प्रहार गरेको बताएका छन्।

सिंहका अनुसार कुनै पनि देशको परराष्ट्र नीति त्यहाँको सरकारको स्वरूपले निर्धारण गर्छ। उनले अहिले बनेको सरकारले छिमेकी देशहरूसँगको सम्बन्धमा आघात पुर्याउने र केवल अमेरिकी स्वार्थलाई मात्र प्राथमिकता दिने गहिरो विश्लेषण गरेका छन्। उनले भने, ‘यो सरकार आफ्नो कुनै स्वतन्त्र राजनीतिक दिमागबाट विहीन छ। यसको हरेक चाल अर्कैको निर्देशनमा नाङ्गो रूपमा चलेको छ। यो सरकारको उपस्थितिको एक मात्र औचित्य भनेको अमेरिकी मालिकको आँखा नचाउनु हो।’

महामन्त्री सिंहले अमेरिकी रणनीतिको मुख्य उद्देश्य नेपालको भूमि प्रयोग गरेर चीनको तिब्बतमाथि आक्रमण गर्नु रहेको स्पष्ट आशंका व्यक्त गरे। यस सन्दर्भमा उनले वर्तमान सरकारका कतिपय मन्त्रीहरू खुला रूपमा ‘फ्रि तिब्बत’ आन्दोलनका समर्थक रहेको उल्लेख गर्दै यसले नेपाललाई प्रत्यक्ष युद्धभूमि बनाउने खतरा निकै बढेको चेतावनी दिए। उनले भने, ‘जब नेपालकै मन्त्रीले नेपालको भूमि प्रयोग गरेर छिमेकी मुलुकको क्षेत्रीय अखण्डतामाथि आक्रमण गर्ने अभियानको खुलेर समर्थन गर्छ, त्यो देशद्रोह हो। त्यस्तो व्यक्तिलाई मन्त्री बनाउनु नै अमेरिकी योजनाको सफलता हो।’

सिंहले लोकप्रियतावाद (पपुलिजम) लाई अन्तर्राष्ट्रिय समस्या र फासीवादको जननीको रूपमा चित्रण गरे। उनका अनुसार अहिले विश्वभरि जुन भावनात्मक राजनीतिको बाढी आएको छ, त्यसले तर्क र विचारलाई परास्त गर्दै फासीवादलाई जन्म दिइरहेको छ। उनले भने, ‘अमेरिकालाई नेपालमा त्यस्तो राजनीतिक शक्ति चाहिन्थ्यो, जसको आफ्नै कुनै राजनीतिक दिमाग छैन। जसले अर्कैको निर्देशनमा नाङ्गै नाच्छ। हामीले युक्रेन, गाजा र इरानको स्थिति आँखै अगाडि देखेका छौं। अमेरिकाले ती देशहरूलाई जसरी आफ्नो रणनीतिको इन्धन बनायो, ठीक त्यसै गरी नेपाललाई पनि युद्धभूमि बनाउने योजनाबद्ध प्रयास भइरहेको छ।’

नेकपा मसाल महामन्त्रीले अहिले नेपालका युवा र विद्यार्थीहरू अमेरिकी प्रचारयन्त्रको शिकार बनेको चिन्ता व्यक्त गर्दै भने, ‘जब जनतामा राजनीतिक विचारभन्दा भावना मात्र हावी हुन्छ, तब देशले गम्भीर क्षति व्यहोर्नुपर्छ। अहिलेको निर्वाचनको नतिजा त्यसैको प्रतिबिम्ब हो। युवाहरूले सोचेको भन्दा उल्टो, उनीहरू नै आफ्नो भविष्यको विनाशको मूक साक्षी बन्दैछन्।’ साथै, उनले सरकारले स्वतन्त्र विद्यार्थी युनियन, ट्रेड युनियन र प्रेसमाथि नियन्त्रण गर्न थालेको भन्दै लोकतान्त्रिक अधिकारहरू क्रमशः खोसिँदै गएकोमा गम्भीर चिन्ता व्यक्त गरे।

अन्त्यमा, महामन्त्री सिंहले अमेरिकी साम्राज्यवाद र यसबाट सिर्जित गम्भीर संकटका विरुद्ध सबै देशभक्त नेपाली, वामपन्थी र प्रगतिशील शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकतामा जोड दिँदै भने, ‘अबको लडाइँ दलगत होइन, राष्ट्रिय अस्तित्वको लडाइँ हो। यदि हामी सबै एकजुट भएनौं भने, नेपाल पनि गाजा र युक्रेनको बाटोमा हिंड्न बाध्य हुनेछ।’ उनले अमेरिकी रणनीतिको पर्दाफास गर्दै नेपाली जनतालाई सचेत रहन आग्रह गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button