२२ चैत्र २०८२, आईतवार

ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा भोलि निर्णायक सुनुवाइ

काठमाडौं — पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक ले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि भोलि (आइतबार) सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।

यसअघि अदालतले जारी गरेको ‘कारण देखाउ’ आदेशअनुसार विपक्षी सरकार पक्षबाट लिखित जवाफ प्राप्त भइसकेको स्रोतले जनाएको छ। सबै आवश्यक प्रक्रिया पूरा भइसकेकाले अब मुद्दा पेसीमा चढ्ने र बहस सुरु हुने तयारी भएको बताइएको छ।

जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिनका लागि गठन गरिएको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारी निर्णयअनुसार चैत १४ गते प्रहरीले दुवै नेतालाई पक्राउ गरेको थियो।

पक्राउ गैरकानुनी भएको दाबी गर्दै ओली र लेखकले चैत १५ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए। त्यसपछि चैत १६ गते छुट्टाछुट्टै इजलासबाट भएको प्रारम्भिक सुनुवाइपछि अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो।

अब सरकार पक्षको लिखित जवाफसमेत आइसकेकाले मुद्दाको सुनुवाइका लागि आवश्यक सबै आधार तयार भइसकेको छ। भोलिको बहसले दुवै नेताको पक्राउ कानुनी हो वा होइन भन्ने विषयमा महत्वपूर्ण निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button