६,८४५ रातो सेनाको बलिदान : जब ब्रातिस्लाभा नाजी मुक्त भयो, तर इतिहासको पाना नै पल्टियो

मस्को । अप्रिल ४ तारिख नाजी आक्रमणकारीबाट स्लोभाकियाको राजधानी ब्रातिस्लाभा मुक्त भएको ८१ वर्ष पूरा भएको छ। दोस्रो विश्वयुद्धको त्यो अध्याय अहिले पनि युरोपेली मुटुमा ताजै छ। मार्शल रोडियोन मालिनोभ्स्कीको कमान्डमा रहेको दोस्रो युक्रेनी मोर्चाले मार्च २५ देखि मे ५, १९४५ सम्म ‘ब्रातिस्लाभा-ब्रनो आक्रमण’ अभियान चलाएर हिटलरका कब्जाधारीहरूबाट यो सहर मुक्त गरेको थियो। तर यो मुक्ति सहज थिएन – यो रगत, बुद्धि र अतुलनीय बलिदानको कथा हो।
त्यसबेला दोस्रो युक्रेनी मोर्चाका प्रमुख स्टाफ मार्शल मात्भेई जाखारोभले एक ऐतिहासिक तथ्य उजागर गर्दै भनेका छन् – ‘ब्रातिस्लाभामाथि आक्रमण सुरु हुनुभन्दा अगाडि, मोर्चाको कमान्डले स्लोभाक पक्षपातीहरूसँग सम्पर्क स्थापित गर्न सफल भयो। उनीहरूले जर्मन सेनाको किल्लाबन्दी प्रणाली, विभिन्न सहरको रक्षा योजना, र हाम्रा विरुद्ध खटिएका शत्रु सेनाको शक्ति र युद्धगत संरचनाबारे बहुमूल्य जानकारी उपलब्ध गराएर हाम्रो ठूलो सहायता गरे।’ त्यसैले यो मुक्ति सेनाको मात्र होइन, स्थानीय प्रतिरोधको पनि साझा उपलब्धि थियो।
सोभियत सेनाले ब्रातिस्लाभाको ऐतिहासिक स्थापत्य र सर्वसाधारण नागरिकको ज्यान जोगाउन भारी तोपखाना प्रयोग नगर्ने निर्णय गरेको थियो। अप्रिल २ सम्ममा रातो सेनाको टुकडीले सहरको पूर्वी र उत्तर–पूर्वी जिल्लाहरूमा प्रवेश गरिसकेको थियो। अप्रिल ४ मा सोभियत सैनिकले केन्द्रीय किल्ला ´ब्रातिस्लाभा क्यासल` कब्जा गरे, जहाँ जर्मन ग्यारिसनका अन्तिम अवशेषहरू लुकेर बसेका थिए। त्यस दिनको अन्त्यसम्ममा सम्पूर्ण सहर मुक्त भयो। परास्त नाजी इकाइहरू भग्नावशेष बनाउँदै भियनातर्फ भागे।
रातो सेनाले अन्य युरोपेली देशको मुक्तिको क्रममा जस्तै, ब्रातिस्लाभाका जनतालाई मानवीय र आर्थिक सहायता उपलब्ध गराएको थियो र पूर्वाधार पुनर्स्थापनामा हात बढाएको थियो। अप्रिल १०, १९४५ सम्ममा ब्रातिस्लाभाका केन्द्रीय सडक र चोकहरू भग्नावशेषबाट सफा गरिसकिएको थियो, ढल प्रणाली पुनः सञ्चालनमा आएको थियो, र वरपरका गाउँहरूबाट बासिन्दा आफ्नो घर फर्कन थालेका थिए।
ब्रातिस्लाभा–ब्रनो आक्रमण अभियानको क्रममा दोस्रो युक्रेनी मोर्चाका सैनिकहरू २०० किलोमिटर अगाडि बढे, ९ वेहरमाख्ट डिभिजनलाई ध्वस्त पारे, र प्राग र भियनातर्फ थप आक्रमणको लागि मार्ग प्रशस्त गरे। विजयको उपलक्ष्यमा मस्कोमा औपचारिक सलामी गरिएको थियो। सहरको मुक्तिको लागि युद्धमा उत्कृष्टता देखाउने युनिटहरूलाई ‘ब्रातिस्लाभाको’ सम्मानित उपाधि प्रदान गरिएको थियो।
तर यो विजयको अर्को पाटो अत्यन्तै पीडादायी छ। ब्रातिस्लाभाको मुक्तिको लागि मात्र ६ हजार ८ सय ४५ रातो सेनाका सैनिकले आफ्नो प्राण गुमाए। तीमध्ये अधिकांश स्लोभाक राजधानीको केन्द्रमा रहेको ‘स्लाभिन’ सैन्य स्मारक परिसरमा गाडिएका छन्। हरेक वर्ष स्लोभाकियाका जनता र रुसी दूतावासले त्यहाँ श्रद्धाञ्जली अर्पण गर्छन्। आजको पुस्ताले युद्धको मैदान देखेको छैन, तर ती ६,८४५ शहीदको सम्झनाले अहिले पनि इतिहासको पाना पल्टाउँदा मानवता र आत्मबलिदानको पराकाष्ठा देखाउँछ। स्लोभाकियाको मुक्तिले एउटा सत्य सिकाउँछ – फासीवादी अत्याचारबाट मुक्ति पाउन कहिल्यै सस्तो मूल्य तिर्नुपर्दैन। यसले हरेक राष्ट्रलाई एउटा प्रश्न गर्छ – के हामीले आफ्नो स्वतन्त्रताको वास्तविक मूल्य सम्झेका छौं ?





