बुशहर आणविक प्लान्टमाथि चौथो प्रहार : इरानी मन्त्रीको चेतावनी – विकिरणले तेहरान होइन, खाडीको राजधानीको जीवन सक्नेछ

तेहरान । अमेरिका–इजरायलले इरानको बुशहर आणविक ऊर्जा प्लान्ट नजिक शनिबार गरेको प्रहारको इरानी विदेशमन्त्री सैयद अब्बास अराकचीले कडा निन्दा गरेका छन्। यो प्रहार इरानको एक मात्र सञ्चालनरत आणविक प्लान्ट नजिक भएको हो। तेहरानले पुष्टि गरेअनुसार प्रक्षेपणले प्लान्टको एउटा भवनमा क्षति पुर्याएको छ र एक सुरक्षा कर्मचारीको ज्यान गएको छ। अमेरिका–इजरायल–इरान द्वन्द्व सुरु भएयता यो चौथो पटक यस्तो आक्रमण भएको हो।
सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा अराकचीले लेखेका छन् – ‘इजरायल–अमेरिकाले हाम्रो बुशहर प्लान्टमा अहिलेसम्म चार पटक बमबारी गरिसकेको छ। रेडियोधर्मी प्रदूषणले तेहरान होइन, खाडी सहयोग परिषद् (जीसीसी) को राजधानीहरूको जीवन समाप्त पार्नेछ।’ उनको यो भनाइले एक स्पष्ट सन्देश दिएको छ – यदि युद्धको सीमा पार भयो भने यसको मारमा इरान मात्र नभई सम्पूर्ण पश्चिम एसिया पर्नेछ। अराकचीको यो चेतावनीले खाडी मुलुकहरू (जस्तै साउदी अरेबिया, कुवेत, कतार, युएई) मा तनाव बढाएको छ, किनभने ती सबै जीसीसीको सदस्य छन् र इरानको निकटतम छिमेकी हुन्।
इरानको अर्धसरकारी तस्नीम समाचार एजेन्सीका अनुसार प्रहारले प्लान्टको सञ्चालनमा भने कुनै अवरोध गरेको छैन। मुख्य खण्डहरू अक्षुण्ण छन्। अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले पनि प्रहारपछि विकिरणको स्तरमा कुनै वृद्धि नभएको पुष्टि गरेको छ। तर आईएईएका महानिर्देशक राफाएल ग्रोसीले घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै भनेका छन् – ‘आणविक ऊर्जा प्लान्ट वा तिनको वरपरका क्षेत्रहरूमाथि कहिल्यै आक्रमण गर्नु हुँदैन।’ उनले आणविक दुर्घटनाको जोखिमबाट बच्न अधिकतम सैन्य संयम अपनाउन आग्रह गरे।
यो घटना फेब्रुअरी २८ मा अमेरिका–इजरायलले इरानमाथि गरेको संयुक्त आक्रमणपछि बढेको क्षेत्रीय तनावको बीचमा आएको हो। इरान र उसका क्षेत्रीय सहयोगीहरूले मध्यपूर्वभरि इजरायली र अमेरिकी हितहरूमाथि जवाफी आक्रमण गरिरहेका छन्। बुशहर आणविक प्लान्ट विनाशको सिकार बन्ने त होइन भन्ने आशंका बढ्दै गर्दा आईएईएले पनि बारम्बार चेतावनी दिइरहेको छ। यदि साधारण प्रहारले पनि प्लान्टको सुरक्षा प्रणालीमा कमजोरी ल्याइदियो भने त्यसले पूरै क्षेत्रमा रेडियोधर्मी प्रदूषणको भयावह परिस्थिति सिर्जना गर्न सक्छ। इरानी मन्त्रीको चेतावनीले एउटा तीतो सत्य उजागर गरेको छ – यो अब केवल इरान र अमेरिकाको लडाइँ होइन। यसको असरले पूरै पश्चिम एसियालाई आफ्नो चपेटामा लिन सक्छ। विश्व समुदायले अब के गर्ला ? के ग्रोसीको ‘अपील’ ले आक्रमण रोक्ला ? तर इतिहासले देखाएको छ – जहाँ आणविक सुविधा युद्धको लक्ष्य बन्छ, त्यहाँ मानवताको हार निश्चित छ। अबको केही दिनले यसको दिशा तय गर्नेछ।





