७७ जिल्लामा कांग्रेसको ‘जरा अभियान`
वैशाखभित्रै सकिने सदस्यता, अन्यथा महाधिवेशनमै प्रवेश निषेध

काठमाडौँ । नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनको तयारी र पार्टी सुदृढीकरणको नाममा ‘जरा अभियान’ थालेको छ। सातै प्रदेशका ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको छ। पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले शनिबार विज्ञप्ति जारी गरी यो अभियान अन्तर्गत क्रियाशील सदस्यता अद्यावधिक, संगठनात्मक गतिविधिको विश्लेषण, जनता तथा युवासँग निर्वाचनको समीक्षात्मक कार्यक्रम र स्थानीय सरकारको बजेट निर्माणमा मार्गनिर्देशन गरिने जनाएका छन्। केन्द्रीय प्रतिनिधिका लागि शनिबार पार्टी केन्द्रीय कार्यालयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। त्यस क्रममा महामन्त्री प्रदीप पौडेलले अभियानको उद्देश्यबारे प्रशिक्षण दिएका थिए भने युवानेता प्रताप पौडेलले विशेष महाधिवेशनबाट पारित विधान, कार्यविधि र प्राविधिक पक्षबारे जानकारी गराएका थिए।
यो अभियानले कांग्रेसको सदस्यता प्रणालीलाई पूर्ण रूपान्तरण गर्ने संकेत दिएको छ। विज्ञप्ति अनुसार, वैशाख १ गतेदेखि वैशाख मसान्तसम्म एक महिने जरा अभियान चल्नेछ। त्यस अवधिमा केन्द्रदेखि प्रत्येक तहका पार्टी सदस्य आफ्नो सम्बन्धित वडामा स्वयं उपस्थित भई सदस्यता अद्यावधिक गर्नुपर्नेछ। यसरी सदस्यता अद्यावधिक गरेका सदस्यले मात्र कांग्रेस ‘आइडी’ प्राप्त गर्नेछन् र १५औँ महाधिवेशनमा भाग लिन पाउनेछन्। यो नियमले पार्टीभित्र सदस्यता दर्तामा कडाइ गर्दै लामो समयदेखि निष्क्रिय रहेका सदस्यलाई स्वतः बाहिरिने बाटो खुला गरेको छ। साथै, जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरूले जिल्लामार्फत ६ हजार ७ सय ४३ वटै वडामा प्रतिनिधि खटाउने तयारी गरेको छ।
कांग्रेसले खटाएका प्रतिनिधिहरूको सूचीमा पार्टीभित्रका शक्ति केन्द्र र समीकरणलाई पनि पढ्न सकिन्छ। पूर्वमहामन्त्री विष्णुदेवी पाण्डे, पूर्वमन्त्रीहरू, सांसदहरू र पार्टीका पुराना तथा नयाँ अनुहारहरू जिल्ला जिल्लामा पुगिसकेका छन्। कोशी प्रदेशको ताप्लेजुङमा बाबुराम कोइराला, झापामा मेदिनीप्रसाद सिटौला, मोरङमा सुधीर सिवाकोटी, सुनसरीमा अमृतकुमार अर्यालजस्ता नामदेखि लिएर मधेसको सप्तरीमा मनोजमणि आचार्य, धनुषामा केशव निरौला, बारामा मथुराप्रसाद घिमिरे, पर्सामा अञ्जु झाजस्ता नेताहरू खटिएका छन्। बागमतीको काठमाडौंमा चिनकाजी श्रेष्ठ, ललितपुरमा राजेन्द्रकुमार केसी, भक्तपुरमा डा. अमित प्रधान, गण्डकीको कास्कीमा रामचन्द्र त्रिपाठी, तनहुँमा प्रकाश पन्त, लुम्बिनीको रुपन्देहीमा धरमबहादुर कार्की, पाल्पामा राजेन्द्रगोपाल सिंह, दाङमा केशवराज शर्मा आचार्य, कर्णालीको सुर्खेतमा नारायणप्रसाद भट्टराई, दैलेखमा दीपकजङ्ग शाह, सुदूरपश्चिमको कैलालीमा जगतप्रसाद जोशी, कञ्चनपुरमा नरेन्द्रप्रसाद भट्टजस्ता पंक्तिका नेता प्रतिनिधि बनेका छन्। प्रतिनिधिको सूचीमा पुरुष–महिला, पहाड–मधेस, सबै समुदायको मिश्रण देखिन्छ।
यो अभियानले कांग्रेसको संगठनलाई केन्द्रबाटै नियन्त्रण गर्न खोजेको देखिन्छ। ‘जरा अभियान’ को औपचारिक उद्देश्य पार्टीलाई जनतासँग जोड्नु भए पनि व्यावहारिक रूपमा यो १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा सदस्यता विवाद चिर्ने र नेतृत्वले आफ्नो पहुँच स्थानीय तहसम्म विस्तार गर्ने रणनीतिको रूपमा देखिन्छ। ‘वैशाख महिनाभित्र नसकिए सदस्यता रहँदैन’ भन्ने कडा व्यवस्थाले पार्टीका हजारौँ पुराना कार्यकर्तामा त्रास र आक्रोश दुवै सिर्जना गर्न सक्छ। यसको सफलता वा असफलता भने वैशाखको एक महिनामा कति कार्यकर्ता स्वयं वडामा पुग्न सक्छन् र सदस्यता अद्यावधिक गर्न सक्छन् भन्ने प्रश्नसँग जोडिएको छ। कांग्रेसको भविष्यको महाधिवेशनको बाटो अहिले यही ‘जरा’ को बलियोपनमा निर्भर छ – जरा जति गहिरो र स्वस्थ, रूख उति बलियो। तर व्यवहारमा जरा अभियानले ‘हलो–पानी’ नै पाउँछ कि सुख्खा जमिनमा रोपिएको बीउ सावित हुन्छ, त्यो हेर्न बाँकी छ।





