दुई–चार वर्षमा नेता बन्दैनन्, समाजवादको कुनै विकल्प छैन : बिजुक्छेँ

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले समाजवादको विकल्प नरहेको स्पष्ट पार्दै दुई–चार वर्षमा कोही पनि परिपक्व नेता नबन्ने बताएका छन्। पार्टीको आठौँ महाधिवेशनपछिको केन्द्रीय समितिको तेस्रो बैठक शनिबार भक्तपुरमा सम्पन्न भएको हो। अध्यक्ष बिजुक्छेँको अध्यक्षतामा बसेको सो बैठकले पार्टीको भावी मार्गचित्र तय गर्ने विषयमा गम्भीर छलफल गरेको छ।
बैठकमा अध्यक्ष बिजुक्छेँले सडक होस् वा निर्वाचित संस्था, जहाँ भए पनि नेमकिपाले देश र जनताको निःस्वार्थ सेवा गर्दै जाने प्रतिबद्धता दोहोर्याए। उनले कार्यकर्ताहरूलाई निर्वाचनको मौसममा मात्र जनताबीच पुगेर संगठन विकास र मत प्राप्त हुँदैन भन्ने सचेत गराउँदै आफ्नै मिहेनतमा संगठन विस्तार गर्नुपर्नेमा जोड दिए। समाजवादको परिभाषा स्पष्ट पार्दै उनले भने ‘योग्यता अनुसार काम र काम अनुसार पारिश्रमिकको व्यवस्था नै समाजवाद हो।’
अध्यक्ष बिजुक्छेँले नेपालको भदौ २३ र २४ गतेको उपद्रव संरा अमेरिका र भारतीय सरकारको संलग्नता बिना हुन नसक्ने नेमकिपाले सुरुमै स्पष्ट पारेको उल्लेख गर्दै कार्यकर्ताहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा नियमित अध्ययन र अन्तरक्रिया गरिरहन निर्देशन दिए। ‘जनतासँग कार्यकर्ताको व्यवहार विनम्र र भद्र हुनुपर्छ’ उनले भने। ट्रम्प प्रशासनलाई ‘कूटनीतिविहीन’ ठहर गर्दै उनले चीनले भने संयुक्त राष्ट्र सङ्घमा कूटनीतिक शैलीमा आफ्नो अडान राख्दै आएको बताए। पुँजीवादी विचलनबाट जोगिन र जनतासँगै सिक्दै जनताकै संगठन गर्न उनले कार्यकर्तालाई निर्देशन दिए।
अध्यक्ष बिजुक्छेँले संसद सदस्यको वास्तविक कर्तव्यबारे पनि स्पष्ट पारे। उनले भने ‘संसद सदस्यको काम आफ्नो निर्वाचन क्षेत्रको सानोतिनो विकासको कुरा गर्ने होइन, देशको लागि आवश्यक नीति र कानुन बनाउने हो। यो विषय नेपालका बुद्धिजीवीहरूले पनि बुझ्न सकेनन्। पार्टीका कार्यकर्ताले भने बुझ्नैपर्छ।’ उनले जनता सचेत भएपछि मात्र समाजवाद बुझ्ने भन्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा जनताबीच नियमित कक्षा सञ्चालन गर्नुपर्नेमा जोड दिए। कम्युनिस्टहरूले कामदार वर्गको हित हेर्ने हुँदा शोषकहरूले कम्युनिस्टलाई मन नपराउने स्पष्ट पार्दै उनले कार्यकर्तालाई जनतामा पुँजीवादी विचारप्रति घृणा पैदा गर्ने शिक्षा दिन निर्देशन दिए।
‘देश र जनताको सेवा गर्छौं भन्नेहरूले जानाजान गल्ती गर्नु जनताप्रति बेइमान गर्नु हो’ भन्दै उनले कार्यकर्तालाई राजनीतिक रूपमा परिपक्व हुन जनताकै बीचमा पुगेर अध्ययन र अनुभव सहित सिक्नुपर्ने बताए। निर्वाचनमा प्रतिक्रियावादीहरूले भित्री र बाहिरी जालझेल गरेर जनताका उम्मेदवारलाई हराउने भन्दै उनले कार्यकर्ताको ‘जिउभरी आँखा हुनुपर्छ’ भन्ने चेतावनी समेत दिए।
राजनीतिक परिपक्वताको विषयमा उनले एउटा मार्मिक उदाहरण दिए ‘दुई–चार वर्ष फुटबल खेल्दैमा कोही पनि पोख्त खेलाडी हुँदैन। राजनीतिमा पनि २–४ वर्षमै कोही परिपक्व नेता बन्दैन।’ यो भनाइले हाल नेपाली राजनीतिमा देखिएको नेतृत्वको हतारोलाई प्रश्न गरेको छ। बैठकमा पार्टी सचिव प्रेम सुवालले केन्द्रीय समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए भने केन्द्रीय सदस्यहरूको प्रतिवेदन प्रस्तुति जारी रहेको छ। बैठक आइतबारसम्मका लागि स्थगित भएको छ। अध्यक्ष बिजुक्छेँको यो अभिव्यक्तिलाई नेमकिपाको आठौँ महाधिवेशनपछिको पहिलो महत्वपूर्ण राजनीतिक दस्तावेजको रूपमा हेरिएको छ। उनले समाजवादलाई एउटा सिद्धान्त मात्र नभई व्यवहारिक विकल्पका रूपमा प्रस्तुत गरेका छन्। उनको सन्देश स्पष्ट छ हतारमा नेता बन्ने चेष्टा नगर, जनताको पीडा बुझ्, पुँजीवादी विचारलाई घृणा गर्न सिक, अनि मात्र समाजवादको बाटो खुल्छ।





