राजविराजमा गाडीबाटै अभिवादन, गाडीबाट नओर्लिएर हात हल्लाउँदै फर्किए बालेन

राजविराज / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह मंगलबार सप्तरीको राजविराज आइपुगे पनि कार्यकर्ता र समर्थकसँग प्रत्यक्ष भेट नगरी गाडीबाटै हात हल्लाउँदै फर्किएका छन्। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी तय गरिएको उक्त भ्रमणले स्थानीय तहमा उत्साहभन्दा बढी निराशा छोडेको देखिएको छ।

बिहानैदेखि राजविराजका विभिन्न स्थानमा पार्टी नेता, कार्यकर्ता र समर्थकहरू बालेन्द्रको प्रतीक्षामा थिए। कार्यक्रमअनुसार गजेन्द्र चोकस्थित स्वर्गीय नेता गजेन्द्रनारायण सिंह (गजेन्द्र बाबु)को सालिकमा माल्यार्पण गरी त्यसकै छेउमा रहेको पार्टी कार्यालय पुग्ने तयारी थियो। तर गजेन्द्र चोक आइपुग्दा बालेन्द्रले गाडी नरोकी सालिकतर्फ माला फ्याँकेर अगाडि बढेपछि उपस्थितहरू अचम्ममा परेका थिए।

त्यसपछि पनि पार्टी कार्यालय अगाडि गाडी रोकिने अपेक्षा गरिएको थियो। तर बालेन्द्र साह कार्यालयको गेटबाटै गाडी नरोकी अघि बढे। राजविराजकै एक होटलमा भोजनका क्रममा पुनः फर्किएर सालिकमा विधिवत माल्यार्पण र कार्यालयमा भेटघाट हुने विश्वासमा नेता–कार्यकर्ता र समर्थकहरू एक घण्टाभन्दा बढी समय त्यहीँ पर्खिरहे। तर भोजनपछि बालेन्द्र हुलाकी सडक हुँदै पश्चिमतर्फ लागेपछि प्रतीक्षारत समूह निराश हुँदै घर फर्किन बाध्य भए।

स्थानीय नेता–कार्यकर्ताहरूले कार्यक्रम तय भएअनुसार कार्यान्वयन नहुनु र नेताको छोटो उपस्थितिले संगठनात्मक मनोबलमा असर परेको प्रतिक्रिया दिएका छन्। चुनावी माहोल तातेको समयमा यस्तो घटनाले पार्टीभित्र समन्वय र संचारको प्रश्न उठाएको उनीहरूको भनाइ छ। राजविराज भ्रमण औपचारिकभन्दा बढी प्रतीकात्मकमै सीमित भएपछि रास्वपाको चुनावी सन्देश अपेक्षा अनुसार सम्प्रेषण हुन नसकेको ठानिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button