ग्रेटर नेपाल’ को छैटौं नक्सा सार्वजनिक
बालेन र रविलाई मोर्चाको आह्वान– ‘सुगौलीमा गुमेको भूमि फिर्ता गराउनुहोस्

काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सुगौली सन्धि (१८१६ मार्च ४) भएको २१० वर्ष पुगेको अवसरमा ग्रेटर नेपालको छैटौं संस्करणको नक्सा सार्वजनिक गरेको छ। आज अप्रिल ५ मा काठमाडौंमा जारी गरिएको सो नक्सा २०६३ सालमा मोर्चाले जारी गरेको पहिलो नक्सादेखि यता छैटौं संस्करण हो। मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले विज्ञप्ति जारी गर्दै यो नक्सा ऐतिहासिक दस्तावेज, सन्धि–सम्झौता र अन्य प्रमाणिक आधारहरूमा तयार पारिएको बताएका छन्।
मोर्चाका अनुसार ग्रेटर नेपालको पहिलो नक्सा २०६३ मा जारी गरिएको थियो, जसमा पूर्व–पश्चिम टिस्टा नदीदेखि सतलज नदीसम्म र दक्षिणमा मेचीदेखि कोसी नदीका बीचको गङ्गा नदीदेखि उत्तरको भूभाग समेटिएको थियो। सुगौली सन्धि हुनुअघिका अनेक कालखण्डमा नेपालको सार्वभौमसत्ता कायम भएका नयाँ क्षेत्र पत्ता लागेमा नक्साका थप संस्करण प्रकाशित हुँदै जाने मोर्चाको भनाइ छ।
ग्रेटर नेपालको क्षेत्रफल करिब ३,३४,२५० वर्ग किलोमिटर उल्लेख गर्नुका दुई प्रमुख आधार रहेको मोर्चाले जनाएको छ। पहिलो, सन् १९५० जुलाई ३१ मा नेपाल र भारतबीच भएको सन्धिको धारा ८, र दोस्रो, सन् १९५० अक्टोबर ३० मा नेपाल र संयुक्त अधिराज्य (बेलायत) बीच भएको सन्धिको धारा ८। मोर्चाको तर्क छ कि यी दुवै सन्धिको धारा ८ ले सुगौली सन्धि रद्द भएको किटान गरेको छ, जसकारण ग्रेटर नेपाल कायम भइरहेको यथार्थ सबैको सामु छ। मोर्चाले ग्रेटर नेपालको मागलाई ‘नेपालको राजनीतिक बेहोसीको उपज’ मात्र भएको भन्दै अब नेपाल त्यो बेहोसीबाट ब्युँझने विश्वास व्यक्त गरेको छ।
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतको नवनिर्मित संसद भवनमा ‘अखण्ड भारत’ को भित्तेचित्र राखेको सन्दर्भ उल्लेख गर्दै त्यसपछि तत्कालीन मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेको ऐतिहासिक क्षणलाई स्मरण गरेको छ। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्दा सभापति रवि लामिछानेले ‘मेरो देशको नक्सा यो हुनेछ’ भन्दै ग्रेटर नेपालको नक्सातिर औंल्याएको प्रसंग पनि उल्लेख गरेको छ।

विज्ञप्तिमा मोर्चा अध्यक्ष फणीन्द्र नेपालले भनेका छन्, ‘हिजो उहाँहरू ग्रेटर नेपाललाई राजनीतिक रूपमा उठाउने दायित्व बोक्नुपर्ने हैसियतमा नभए पनि, आज दुवैलाई त्यो हैसियत प्राप्त छ।’ उनले प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेलाई सुअवसरको उपयोग गर्दै सुगौली सन्धिका कारण गुमेका दार्जिलिङ, सिक्किम, कुमाउ, गढवाल लगायतका भूभाग नेपाल आमाको काखमा फर्काउन आह्वान गरेका छन्। मोर्चाको यो नक्सा जारीले ‘ग्रेटर नेपाल’ को विषयलाई फेरि एकपटक राष्ट्रिय र अन्तर्राष्ट्रिय बहसको केन्द्र बनाएको छ। अब प्रधानमन्त्री बालेन र रवि लामिछानेले यस विषयमा कस्तो धारणा राख्छन्, त्यो भने राजनीतिक वृत्तको चासोको विषय बनेको छ।





