उपसभामुख टुङ्गिन सकेन : बालेनले श्रम संस्कृति भने, रविले राप्रपा रोजे, नेकपा साइडलाइन

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख कुन दललाई दिने भन्ने विषयमा सत्तासीन दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आन्तरिक मतैक्यता नै बन्न सकेको छैन। आइतबार बिहान मात्र उपसभामुखको विषयमा रास्वपाका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीच भएको छलफल निष्कर्षविहीन भएपछि आजै बेलुका पुन: वार्ता गर्ने तयारी भएको छ।
प्राप्त स्रोतका अनुसार प्रधानमन्त्री बालेनले उपसभामुख श्रम संस्कृति पार्टीलाई दिनुपर्ने पक्षमा धारणा राखेका छन्। उनी नयाँ दल भएकाले श्रम संस्कृतिलाई अवसर दिनुपर्ने पक्षमा देखिएका छन्। तर, सभापति रवि लामिछाने भने राप्रपालाई उपसभामुख दिनुपर्ने पक्षमा उभिएका छन्। रविले राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीसँग यस विषयमा एक चरण कुराकानी समेत गरिसकेको स्रोतले जनाएको छ।
रास्वपाका उपसभापति डीपी अर्याल सभामुखमा निर्वाचित भइसकेका छन्। संविधानले सभामुख र उपसभामुख फरक दल र फरक लिङ्गको हुनुपर्ने व्यवस्था गरेको छ। यसै कारण उपसभामुखको टुङ्गो लगाउन रास्वपाको शीर्ष नेतृत्वबीच छलफल जारी छ।
रोचक पक्ष के छ भने, सभामुख अर्याल आफैं भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लाई उपसभामुख दिनुपर्ने पक्षमा देखिएका थिए। परिवर्तनको संवाहक र भोलिको दिनमा संविधान संशोधन तथा राजनीतिक निर्णय गर्न सहज हुने भएकाले नेकपालाई यो पद दिनुपर्ने उनको तर्क थियो। तर, उपसभामुख नेकपालाई दिने पक्षमा न त रवि सकारात्मक छन्, न त बालेन नै। यसकारण नेकपाले उक्त पद पाउने सम्भावना निकै कमजोर बनेको स्रोतको भनाइ छ।
यता राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भने उपसभामुखबारे रास्वपासँग कुनै औपचारिक छलफल नभएको दाबी गरेका छन्। ‘उपसभामुखमा स्वाभाविक रूपमा हाम्रो दाबी रहन्छ। तर यस विषयमा रास्वपासँग कुनै छलफल भएको छैन,’ उनले भने।
उपसभामुखको विषय यत्तिको संवेदनशील हुनुको कारण हो– संवैधानिक परिषद्। प्रधानमन्त्री अध्यक्ष रहने सो परिषद्मा सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, विपक्षी दलका नेता र प्रधानन्यायाधीश सदस्य रहन्छन्। यस परिषद्ले प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, नियोग प्रमुख, आयोग प्रमुख लगायत संवैधानिक निकायका प्रमुख पदाधिकारीहरू सिफारिस गर्छ। उपसभामुखको एउटा सिटले परिषद्को शक्ति सन्तुलनमा ठूलो प्रभाव पार्ने भएकाले सबै दलको नजर त्यही छ। अब बालेन र रविबीचको यो ‘राय बाझाइ’ कसरी टुङ्गिन्छ र कुन दलले उपसभामुखको पद पाउँछ भन्ने विषयले राजनीतिक वृत्तमा चासो पाएको छ।




